निर्मला कुर्मीको न्यायको लागि प्रदर्शन गर्ने रूबी खानसहित ३ जना प्रहरी नियन्त्रणमा
काठमाडौं, १८ असोज। सिंहदरबारअगाडि प्रदर्शन गर्न पुगेका रूबी खानसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार ३ बजे सिंहदरबारको दक्षिण गेटमा प्रदर्शन गर्न पुगेको रूबी खानको टोलीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
रूबी खानसहित, ललिता थारू र गीता चमारलाई प्रहरी वृत्त सिंहदरबारको टोलीले नियन्त्रणमा लिएको महिला अधिकार मञ्चका सूचना अधिकारी शेर बागवनले जानकारी दिए।
५८ दिनदेखि माइतीघर मण्डलामा धर्ना बस्दा वास्ता नगरेपछि प्रदर्शनीमा उत्रिएको हौं, उनले भने।
निर्मला कुर्मीको हत्या आरोपिलाई कानुनी कारबाही हुनुपर्ने र अनुसन्धान अगाडि बढ्नुपर्ने भन्दै बाँकेका अभियन्ता रूबी खानसहित १४ जनाको टोली माइतीघर मण्डलामा धर्ना बस्दै आएका थिए।
यसैबीच माइतीघर मण्डलस्थित नेपालको झण्डा राख्ने पोलमा दुई जना महिला चढेका छन्।
शुक्रबार दिउँसो दुई जना महिला झण्डा राख्ने पोलमा चढेको महिला अधिकार मञ्चका सूचना अधिकारी बागवनले जानकारी दिए।
उनका अनुसार निर्मला कुर्मीको लागि न्याय माग गर्दै प्रदर्शनरत दुई जना महिला पोलमा चढेर प्रदर्शन गरेका हुन्। बाणी चमार र माकरूङ दर्जी चढेका हुन्।
अहिले प्रहरी माइतीघरमा पुगेका छन्। प्रहरी र अन्य अधिकारकर्मीले उनीहरूलाई झार्ने प्रयास गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस्