मर्म चिकित्साको कार्यशाला र आधारभुत तालिम शुरु

काठमाडौँ, १७ असोज। आयुर्वेद चिकित्सालाई थप प्रभावकारी बनाउने उद्देश्यले मर्म चिकित्साको कार्यशाला र आधारभुत तालिम शुरु गरिएको छ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रद्वारा  कीर्तिपुरमा आयोजित उक्त तालिममा विज्ञबाट आयुर्वेद चिकित्सकलाई स्नायुहरुको मिलन विन्दु, लिगामेंट, टेण्डन तथा मुख्य मांसपेशी, हड्डीहरु र जोर्नीका बारेमा भएका पछिल्ला खोज तथा अनुसन्धानबारे सिकाइने
छ ।
यही असोज १६ देखि १८ गतेसम्म संचालन हुने तालिममा शरिरका स्नायुमा योगाभ्यासका फाइदा, योगका विभिन्न आसन तथा प्राणायामहरु गर्दा समेत मर्म स्थानहरुमा हुने प्राण वायुको क्रिया, मर्म स्थान निकट रहेका शरीरको आवश्यक त्रिदोष (वात, पित्त, कफ), त्रिगुण (सत्व, रज, तम) को प्रमुख अंश सम्बन्धी शिक्षा तथा केही थेरापीका कार्यशाला गरिने छ।
शरीरलाई जीवित राख्ने प्राण वायु मर्म स्थानमा रहन्छ।
मर्म विज्ञानलाई चिकित्साको रुपमा प्रयोग गरिएको पाइन्छ । मर्म स्थानलाई दबाएर विभिन्न रोगहरुको सफल चिकित्सा गर्ने गरेको पाइन्छ । मर्म स्थानमा विशेष दबाब वा  कुनै वस्तुको संसर्ग गराएर गरिने चिकित्सा नै मर्म चिकित्सा हो ।
केन्द्रका कार्यकारी निर्देशक रामआधार यादवले यो पद्धतिबाट विशेषगरी नशासम्बन्धी रोगमा धेरै सफलता प्राप्त भएको बताउँदै यस चिकित्साले सबैखाले रोगमा आफ्नो प्रभाव देखाउनसक्ने बताउनुभयो।
मर्म चिकित्सामा खाने औषधिको प्रयोग गर्न नपर्ने र तत्काल नतिजा देखिने बताइएको छ।
केन्द्रले आयुर्वेदिक औषधिको अध्ययन, अनुसन्धान, जडीबुटी खेतीको प्रवर्द्धन,  जडीबुटीको उपयोगका फाइदाबारे प्रचार प्रसार साथै तालिमसमेत उपलब्ध गराउने गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्