दशैंको टीका अघिसम्म पनि पूर्णरुपमा मनसुन बाहिरिने सम्भावना छैन

काठमाडौं, १६ असोज। अघिल्लो वर्षहरुमा भन्दमा यस वर्ष नेपालमा मनसुन लम्बिएको छ । नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टुबर २ तारिक पर्छ । तर मनसुन बाहिरिएको छैन ।

मौसमविद प्रतिभा मानन्धरले अहिलेसम्मको अवस्था हेर्दा अक्टुबरको दोस्रो हप्तातिर मात्रै मनसुन नेपालबाट पूर्णरुपमा बाहिरिने सम्भावना रहेको बताइन् ।

सुदूरपश्चिमका जिल्लामा यसै हप्ताबाट मनसुन बाहिरिन सुरु गरे पनि कोशी प्रदेशमा भने दशैंको टीकाको दिनसम्मै मनसुन कायम रहने सम्भावना छ । यस वर्षको दशैंको टीका असोज २६ गते अर्थात् अक्टुबर १२ तारिकमा छ । तर ‘मनसुनी वायु रहेसम्म वर्षाको सम्भावना पनि कायमै रहने भएकाले कोशी प्रदेशमा हिले दशैंको सम्भावना रहन्छ,’ मौसमका अध्येता डा. धर्मराज उप्रेतीले बताए । उनको अनुसार अघिल्ला दिनहरुको जस्तो भारी र अति भारी वर्षा भने हुँने छैन ।

सुदूरपश्चिमका जिल्लामा भने मनसुन छिट्टै बाहिरिन सुरु हुने सम्भावना छ । सम्भवत सुदूरपश्चिममा आगामी शनिबारदेखि मनसुन बाहिरिन सुरु हुनेछ । तर पूरै नेपालबाट बाहिरिने सम्भावना भने अक्टुबर दोस्रो हप्तातिर मात्रै रहेको मौसमविदको भनाइ छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद गोविन्द झाले भने, ‘नेपालबाट मनसुन पूर्णरुपमा बाहिरिन केही दिन लाग्ने सम्भावना छ, हामी त्यसलाई नजिकबाट हेरिरहेका छौं र अत्यावधिक गर्दै जाने छौं ।’
हाल भारतको गुजरात र पश्चिमको आसपासबाट मनसुन बाहिरिसकेको छ । तर भारतको सबै भूभागबाट भने बाहिरिसकेको छैन । मनसुनी वायुलाई धकेल्ने त्यो पश्चिमी वायु भारतको उत्तराखण्ड हुँदै नेपालको सुदूरपश्चिमको भूभागमा प्रवेश गरेर पूर्वतिर सर्दै जाने छ ।

नेपालमा सरदर जुन १३ मा मनसुन भित्रिने र अक्टुबर २ तारिखमा बाहिरिने गर्दछ । तर यस वर्षको मनसुन सरदर मिति भन्दा तीन दिन छिटो ९जुन १० अर्थात् जेठ २८ गते० नेपाल भित्रिएको थियो ।
मौसमविदका अनुसार केही वर्षयता नेपालमा मनसुन अवधि औसतभन्दा लम्बिने र वर्षा पनि अस्वाभाविक हुने गरेको छ । यसो हुनुमा जलवायु परिवर्तनलाई प्रमुख कारण मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्