कांग्रेस बैठकमा आफ्नै सरकारको आलोचना

काठमाडौं, १३ असोज। नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सरकारको आलोचना भएको छ।

संघीय सरकारमा अहिले कांग्रेस, एमाले, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी छन्।

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिकामा छन्।

अहिले उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंह कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारीमा छन्।

कार्यवाहक प्रधानमन्त्री र गृहमन्त्री रमेश लेखक कांग्रेसबाट भएको बेला विपदमा सरकारको काम गराईको अवस्थालाई लिएर पार्टीभित्र आलोचना भएको हो।

काठमाडौं उपत्यकाभित्र मात्रै अविरल वर्षाले ४८ जनाको मृत्यु भएको थियो।

बिहीबारदेखि परेको अविरल वर्षाले काठमाडौं उपत्यकासहित देशका अधिकांश जिल्लामा विपद निम्त्याएको छ। जनधनको क्षति भएको छ। पृथ्वी राजमार्गलगायत राजमार्ग र विभिन्न नदीमा रहेका पुल बगेका छन्।

अविरल वर्षा र यसबाट हुने जनधनको क्षतिलाई रोक्न पूर्वतयारीमा सरकार चुकेको भन्दै कार्यसम्पादन समिति सदस्यहरूले सरकारको आलोचना गरेको एक सदस्यले जानकारी दिए।

सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आइतबार बिहान कार्यसम्पादन समिति बैठक बसेको थियो।

उक्त बैठकमा कार्यवाहक प्रधानमन्त्री सिंह र गृहमन्त्री लेखकले विपदमा सरकारले गरेका काम तथा प्रयासबारे ब्रिफिङ गरेका थिए।

गृहमन्त्री लेखकले सीमित स्रोत र साधनका बीच विपदमा काम गर्नुपरेको बताएका थिए।

कांग्रेसले सम्पूर्ण नेता तथा कार्यकर्तालाई बाढीपहिरो पीडितको उद्धार र राहतमा सक्रिय रहन पनि निर्देशन दिएको छ।

जिल्ला-जिल्लामा संगठन सुदृढीकरणका लागि खटाइएका केन्द्रीय सदस्यहरूलाई बाढीपहिरो पीडितको उद्धार तथा राहतका कार्यमा सक्रिय रहन निर्देशन दिइएको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए।

कांग्रेसले संगठन सुदृढीकरण अभियान पनि स्थगित गरेको छ। सरकारको राहत कोषमा ५० लाख रुपैयाँ दिने निर्णय भएको पनि महतले बताए।

प्रतिक्रिया दिनुहोस्