स्वास्थ्य सेवा प्रदान गर्दा गरीब जनतालाई केन्द्रमा राख्नुपर्छः राष्ट्रपति पौडेल

काठमाडौं, १० असोज । राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको उल्लेख गर्दै यसलाई कार्यान्वन गर्न गरीब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व भएको बताएका छन्।

बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको २५ औं वार्षिकोत्सव तथा २० औं राष्ट्रिय क्यान्सर सतर्कता दिवसका अवसरमा आयोजित कार्यक्रमलाई बिहीबार सस्बोधन गर्दै उनले भने, ‘स्वास्थ्य सेवालाई संविधानले मौलिक हकका रुपमा प्रत्याभूत गरेको विदितै छ। यसलाई कार्यान्वन गर्न गरीब तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा प्रदान गर्नु स्वास्थ्य सेवा प्रदायक संस्थाहरूको जिम्मेवारी र दायित्व हो।’

उनले दक्ष जनशक्ति, अत्याधुनिक उपकरण, सहज एवम् प्रभावकारी नविनतम प्रविधिका माध्यमबाट बिरामीलाई गुणस्तरीय र उत्कृष्ट सेवा प्रदान गर्ने तर्फ सरकार र नीजि क्षेत्रले ध्यान दिने विश्वास लिएको पनि बताए।

स्वास्थ्यसम्बन्धी पूर्वाधार र प्रविधिसँगै चितवन स्वास्थ्य सेवाको केन्द्र ९हब० का रुपमा विकास हुन लागेकोमा खुसी व्यक्त गर्दै उनले यसबाट उपचारका लागि राजधानी नै धाउनुपर्ने अवस्थाको अन्त्य गर्नेछ भन्ने विश्वास पनि व्यक्त गरेका छन्।

उनले ले प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला आफू क्यान्सर रोगबाट ग्रसित भई विदेशमा गएर उपचार गर्नुपरेकाले नेपालीहरूले नेपालमा नै यससम्बन्धी रोगको उपचार गर्ने सुविधा सम्पन्न क्यान्सर अस्पतालको परिकल्पना गरेको बताउँदै २०४९ सालमा तत्कालीन सरकारले लिएको विकेन्द्रीकरणको नीतिलाई कार्यान्वयन गर्ने एक उत्कृष्ट उदाहरणका रुपमा यो अस्पताल निर्माण भएको बताए।

राष्ट्रपति पौडेलले राष्ट्रियस्तरको यो अस्पताल हाल क्यान्सरका बिरामीको सेवामा मात्र सीमित नभई अध्ययन, अनुसन्धान र प्रशिक्षणमा अगाडि बढेको जानकारी पाउँदा खुशी लागेको उल्लेख गर्दै क्यान्सरको उपचारमा नयाँ प्रविधि भित्रयाई बिरामीको उपचारमा विशिष्टता अभिवृद्धिमा ध्यान दिन पनि सुझाव दिए।

प्रतिक्रिया दिनुहोस्