श्रीलंकामा राष्ट्रपतिले संसद विघटन, १४ नोभेम्बरमा चुनाव हुने

काठमाडौं,९ असोज । श्रीलंकाका राष्ट्रपति अनुरा कुमारा दिशानायकेले संसद विघटन गरेका छन् । उनले संसद विघटनसंगै संसदीय निर्वाचनको मिति समेत तोकेका छन् ।

शनिबार सम्पन्न राष्ट्रपति निर्वाचनमा वामपन्थी नेता दिशानायके निर्वाचित भएका थिए । तर २२५ सदस्यीय संसदमा उनको दल नेशनल पिपुल्स पावरका तीन जना मात्र सांसद थिए ।

राष्ट्रपति दिशानायकेले मंगलबार आफ्नो दलका सांसद डा. हरिनी अमरासूर्यलाई प्रधानमन्त्री र विपथा हेराथ मन्त्री बनाएका छन् । लगत्तै मंगलबार मध्यरातबाट लागू हुने गरी उनले संसद भंग गरेका हुन् । श्रीलंकाको संविधान अनुसार राष्ट्रपतिलाई यो अधिकार दिएको छ ।

राष्ट्रपतिले आगामी १४ नोभेम्बर २०२४ मा संसदका लागि नयाँ निर्वाचन हुनेछ ।आगामी ४ अक्टोबरबाट उम्मेदवारी दर्ता गर्न सकिनेछ ।

साथै, निर्वाचनबाट आउने नयाँ संसदको पहिलो बैठक २१ नोभेम्बर २०२४ मा बस्ने समेत तय गरको छ ।

-एजेन्सीको सहयोगमा

 

प्रतिक्रिया दिनुहोस्