राष्ट्रकवि घिमिरेले नेपाली भाषा, साहित्यमा अतुलनीय योगदान दिएका छन्ः राष्ट्रपति पौडेल

काठमाडौं, ७ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली भाषा, साहित्यको विकासमा राष्ट्रकवि माधवप्रसाद घिमिरेको योगदान अतुलनीय रहेको बताएका छन् ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेको १०५ औँ जन्मजयन्तीमा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानद्वारा राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले उक्त विचार व्यक्त गरेका हुन् ।

“राष्ट्रकवि घिमिरेका साहित्यिक सृजना हाम्रै पाखा पखेराका नेपाली जनजीवनका भोगाई, प्रकृति, संस्कृति र मानवीय संवेदनामात्र होइन राष्ट्रिय भावनाले ओतप्रोत भएको पाइन्छ, यसले भाषा, साहित्य मात्र नभएर समग्र वाङमयको क्षेत्रलाई समृद्ध बनाउन र हाम्रो राष्ट्रिय स्वाभिमानको भावना अभिवृद्धि गर्न योगदान दिएको छ”, राष्ट्रपति पौडेलले भने ।

उनले कला, भाषा, साहित्य र संस्कृति सभ्य तथा सुसंस्कृत समाजको परिचायक भएको धारणा व्यक्त गरे ।

उनले भाषिक तथा सांस्कृतिक बहुलता एवं भौगोलिक विविधताले युक्त हाम्रो देशको गौरव, पहिचान भनेकै हाम्रा भाषा, साहित्य, संस्कृति भएको बताए । “यिनको संरक्षण, संवर्धन र विकास गर्नु हामी सबैको कर्तव्य हो”, राष्ट्रपति पौडेलले भने ।

सो अवसरमा राष्ट्रपति पौडेलले यस वर्षको राष्ट्रकवि माधवप्रसाद घिमिरे पुरस्कार वरिष्ठ गीतकार किरण खरेललाई प्रदान गरे । सो पुरस्कारको राशि एक लाख रुपैयाँसहित सम्मानपत्र रहेको छ ।

प्रतिक्रिया दिनुहोस्