मेडिकल व्यवसायी दुर्गा प्रसाईं भक्तपुरबाट पक्राउ

काठमाडौं,६ असोज । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई नेपाल प्रहरीको साइबर ब्यूरोको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको छ ।

काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको चार दिनपछि प्रहरीले उनलाई आज भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित घरबाट पक्राउ गरेको हो । भक्तपुरबाट पक्राउ परेका प्रसाईंलाई वीर अस्पतालमा ल््याएर स्वास्थ्य परीक्षण गराइएको ब्यूरोका एसएसपी तथा प्रवक्ता दीपकराज अवस्थीले बताए । स्वास्थ्य परीक्षणपछि उनलाई हिरासतमा राख्न आइतबार नै अदालतबाट अनुमति लिने प्रहरीको तयारी छ ।

एसएसपी अवस्थीका अनुुसार रास्वपाकी एक नेतृले उनीहरुविरुद्ध जाहेरी दिएकी थिइन् । व्यक्तिगत आक्षेप लगाउँदै गाली गलौज गरेपछि ती नेतृ प्रहरीको साइबर ब्यूरोमा पुगेकी थिइन् ।

प्रसाईंमाथि ब्यूरोले विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान र कारबाही प्रक्रिया अघि बढाउने ब्यूरोको तयारी छ । अहिलेसम्मको प्रारम्भिक अनुसन्धानका क्रममा उनीविरुद्ध दफा ४७ आकर्षित हुने देखिएको छ । अनुसन्धान गर्दै जाँदा थप केही खुलेमा सोही अनुसार प्रक्रिया अघि बढ्ने ब्यूरोले जनाएको छ ।

दफा ४७ अनुसार कम्युटर, इन्टरनेटलगायत विद्युतीय सञ्चार माध्यमहरुमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री वा कसैप्रति घृणा वा द्धेष फैलाउने वा विभिन्न जात जाति र सम्प्रदायबीच सुमधुर सम्बन्धलाई खलल पार्ने किसिमका सामग्रीहरु प्रकाशन वा प्रदर्शन गर्ने, महिलालाई जिस्क्याउने, हैरानी गर्ने, अपमान गर्ने वा यस्तै अन्य कुनै किसिमको अमर्यादित कार्य गर्ने वा गर्न लगाउने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुबै सजाय हुनेछ’ दफा ४७ मा उल्लेख छ ।

विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ को उपदफा २ अनुसार यो कसुर पटक पटक गरेमा त्यस्तो कसुर वापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुने छ । प्रसाईलाई अब २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने बाटो प्रहरीलाई खुलेको छ । अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालयमा प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाउनेछ । त्यसपछि सरकारी वकिल कार्यालयले उनीविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गर्ने छ ।

यो प्रक्रिया पूरा भएपछि साधारण तारेख वा धरौटीमा रिहा तथा पुर्पक्षका लागि उनी कारागार चलान हुन सक्छन् । दोषी ठहर भए प्रसाईंलाई पाँच वर्षसम्म कैद हुन सक्नेछ ।

प्रसाईंसँगै अदालतले पक्राउ अनुमति दिएका मध्ये अन्य दुई युट्युबर बाग्लुङका जीवन पाण्डे र धादिङका प्रकाशचन्द्र दाहाल भने अझसम्म पक्राउ परेका छैनन् ।

 

प्रतिक्रिया दिनुहोस्