श्रीलंकामा राष्ट्रपति चुनावमा वामपन्थी नेता अनुरा दिसानायकेको अग्रता कायमै

काठमाडौं ६ असोज । श्रीलंकामा राष्ट्रपति निर्वाचनको मतगणना चलि रहेको छ । अहिलेसम्मको प्राप्त भएको नतिजामा वामपन्थी नेता अनुरा दिसानायकेले अग्रता लिएका छन् ।

श्रीलंकाको निर्वाचन आयोगको अहिलेसम्म १० लाख भोट गणना भइसक्दा दिसानायकेले झण्डै ५० प्रतिशत मत प्राप्त गरेका छन् । तहाँ राष्ट्रपति निर्वाचित हुन खसेको मतको ५१ प्रतिशत मत ल्याए पुग्छ ।

दिसानायके नेशनल पिपुल्स पावर गठबन्धनको उम्मेदवार हुन् । यो गठबन्धनमा उनको पिपुल्स लिवरेसन फ्रन्ट पाटी पनि सामेल छ ।

दिसानायकेपछि साजिथ प्रेमदासाको पार्टी २० प्रतिशत मतसहित दोस्रो स्थानमा र वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे १८ प्रतिशत भोटसहित तेस्रो स्थानमा छन् । पूर्वराष्ट्रपति गोटाबाया राजपाक्षेका छोरा नमल राजपाक्षेले केबल १ प्रतिशत मत पाएका छन् ।

श्रीलंकाको राष्ट्रपति पदका लागि ३८ जना उम्मेदवार प्रतिस्पर्धामा छन् । नयाँ राष्ट्रपति चयनका लागि शनिबार मतदान भएको थियो । यस निर्वाचनमा ७० प्रतिशत मतदान भएको छ ।

मतदान सकिएलगत्तै देशभर कफ्र्यु लगाइएको छ । मतदान शान्तिपूर्ण रुपमा सम्पन्न भए पनि मतगणनाको क्रममा हुन सक्ने सम्भावित तनावलाई मध्यनजर गरी कफ्र्यु लगाइएको सरकारी अधिकारीहरुले बताएका छन् ।

श्रीलंकामा दुई वर्ष अगाडि आर्थिक संकट चुलिएपछि विरोध प्रदर्शन भएको थियो । विरोध प्रदर्शन थेग्न नसकेपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजपाक्षेले देश छाड्न बाध्य भएका थिए । त्यस यता पहिलोपटक नयाँ राष्ट्रपति चयनका लागि शनिबार मतदान भएको थियो ।

यस चुनावलाई देशको अर्थव्यवस्था सम्हाल्ने सरकारको जनमतसंग्रहको रुपमा हेरिएको छ । हाल श्रीलंकाको आर्थिक अवस्था केही सुध्रिएको बताइए पनि अझ पनि अर्थतन्त्र साविकको अवस्थामा आइ पुगेको छैन् ।

 

प्रतिक्रिया दिनुहोस्