अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्दै आँखुखोला जलविद्युत कम्पनी

काठमाडौं,४ असोज । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले १ बराबर १.५ अनुपातमा निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको शेयर लिलाम बिक्री गर्न लागेको हो ।

कम्पनीले समयसिमा भित्र आवेदन नपरेको १७ लाख ५० हजार २४८ कित्ता हकप्रद शेयर शिलबन्दी बोलपत्र प्रक्रिया मार्फत बिक्री गर्न लागेको हो । यस शेयरमा असोज ११ गतेदेखि २० गतेसम्म इच्छुक व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा सो वा सोभन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ । यस शेयर खरिदका लागि न्यूनतम १०० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम संख्याको लागि कुनै हद लाग्ने छैन ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकका साथै नबिल बैंकका बिर्तामोड, विरगञ्ज, हेटौँडा, जावलाखेल, लेकसाइड पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्