प्रधानमन्त्री ओली आज संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दै
काठमाडौं, ४ असोज । प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थानगर्दै छन् । उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज अमेरिका प्रस्थान गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीका साथमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकारीलगायत छन् ।
संयुक्त राष्ट्रसंघको महासभामा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ विषयमा छलफल हुने छ ।
प्रधानमन्त्री ओलीले असोज ७ गते कोलम्बिया विश्वविद्यालयमा आयोजना हुने ‘नेपालको प्रजातन्त्र र आर्थिक समृद्धिको यात्रा’ विषयमा सम्बोधन गर्ने छन् ।
असोज ८ गते महासभाको साधारण बहसको उदघाटनसत्र र असोज ९ गते अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् ।
यसैगरी असोज १० गते उनले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
साथै असोज ११ गते हुने हार्वर्ड विश्वविद्यालयमा जोन एफ केनेडी जुनियर फोरममा ‘नेपालको परिप्रेक्ष्य सङ्क्रमणकालीन न्यायबाट जलवायु न्याय’ विषयको कार्यक्रमलाई पनि सम्बोधन गर्ने तालिका छ ।
न्युयोर्कमा रहँदा प्रधानमन्त्री ओलीले अतिकम विकसित देशहरूको ग्लोबल समन्वय ब्यूरोको अध्यक्षका रूपमा सम्मेलनलाई पनि सम्बोधन गर्ने छन् ।
साथै समुद्री सतह वृद्धिबाट उत्पन्न अस्तित्व खतरा विषयक समूहगत उच्चस्तरीय बैठक र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ ।
अमेरिका भ्रमण क्रममा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटघाट गर्नुका साथै द्विपक्षीय वार्तासमेत गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री ओलीले असोज ६ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग साइडलाइन वार्ता गर्ने तयारी पनि गरेका छन् । यद्यपि यसको टुंगो भने लागिसकेको छैन ।
प्रधानमन्त्री ओली असोज १४ गते स्वदेश फर्कनेछन् ।
प्रतिक्रिया दिनुहोस्