अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले घटायो ब्याजदर

काठमाडौं,३ असोज । अमेरिकाको केन्द्रीय बैंक फेडरल रिजर्भले ०.५० प्रतिशत विन्दुले ब्याजदर कटौती गरेको छ । फेडरल ओपन मार्केट कमिटीले हालको सन्दर्भ ब्याजदरमा ०.५० प्रतिशत कटौतीको निर्णय गरेको हो ।

कोभिड १९ महामारी पछि पहिलो पटक फेडले ब्याजदर कटौती गरेको हो । यो निर्णयपछि फेडरल ब्याजदर ४.७५ देखि ५ प्रतिशतसम्मको सीमामा झरेको छ । यसअघि यस्तो दर ५.२५ देखि ५.५० प्रतिशतको सीमामा थियो ।

देशको बेरोजगारी दर र मूल्यवृद्धि दुवैमा आशलाग्दो परिणाम देखिन थालेपछि फेडले ब्याजदरमा कटौतीको निर्णय गरेको सीएनबीसीले उल्लेख गरेको छ । ब्याजदर कटौतीले श्रम बजारको मन्दी थप घटाउने एफओएमसीको दाबी छ ।

‘मूल्यवृद्धिदर लक्षित २ प्रतिशतको सीमाभित्र छ, बेरोजगारीको दर पनि अब सन्तुलनतिर गइरहेको छ’ एफओएमसीको बैठकपछि जारी विज्ञप्तिलाई सीएनबीसीले उल्लेख गरेको हो । यो ब्याजदर कटौतीपछि अटो लोन, होम लोन, क्रेडिट कार्ड तथा बिजनेस लोन सस्तो पर्न जानेछ ।

बेरोजगारीको कुनै जटिल समस्याविना नै मूल्य स्थिरतातिर उन्मुख छ । यसले अमेरिका मूल्यवृद्धि र बेरोजगार दुवै समस्यालाई सही रुपमा सम्बोधन गर्न सक्षम रहेको कमिटीको निर्णयपछि फेडका अध्यक्ष जेरोम एच पावेलले पत्रकार सम्मेलनमा सो कुरा बताए ।

पछिल्लो एक वर्षमा अमेरिकी बेरोजगार दर ४ बाट बढेर ४.४ प्रतिशत पुगेको छ भने मूल्यवृद्धि २.६ बाट घटेर २.३ प्रतिशतमा झरेको छ । मूल्यवृद्धिलाई २ प्रतिशत सीमामा झार्ने लक्ष्य लिइएको छ ।

अमेरिकी ब्याजदर परिवर्तनले अमेरिकी उत्पादनको लागत तथा मूल्य, कच्चा तेल, सुन, मुद्रा विनियमदरजस्ता विषयलाई प्रत्येक्ष प्रभाव पर्ने भएकाले यसको असर नेपालसहित विश्वका अन्य मुलुकहरूमा पर्छ ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस्