आजदेखि धरहरा सर्वसाधारणका लागि खुला, केही दिन निःशुल्क चढ्न पाइने

काठमाडौं,३ असोज । २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पमा ध्वस्त भएको नेपालको धरहरा पुनर्निर्माण भइसकेको छ । असोज ३ गते संविधान दिवसको दिन पारेर धरहरा सर्वसाधारणका लागि खुला भएको छ । संविधान दिवसको अवसरमा खुला गरिने घरहरा निर्माण पूर्णरूपमा भने सकिएको छैन । धरहराको ९८ प्रतिशत संरचना निर्माण मात्रै अहिलेसम्म पूरा भएका छ । संविधान दिवसको अवसर पारेर धरहरा खुला गर्ने सरकारको निर्णय अनुसार नै बिहीबारदेखि सबैका लागि चढ्न मिल्ने गरी धरहरा खुला गरिएको हो । परीक्षणका लागि बुधबार ५ बजेदेखि नै विशेष व्यक्तिहरूका लागि धरहरा खुला गरिएको थियो ।

धरहराको निर्माण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै पालामा थालिएको हो । २०७८ साल वैशाख ११ मा ओली नै प्रधानमन्त्री भएको समयमा यसको उद्घाटन गरिएको थियो । पूर्णरूपमा सञ्चालनमा आउन सकेको थिएन। उद्घाटनको समयमा मूल धरहराको निर्माण सकिए पनि अन्य संरचना निर्माण करिब ४२ प्रतिशत मात्रै पूरा भएको थियो ।

सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुमन सालीकका अनुसार भवन निर्माणको आधुनिक व्यवस्था अनुसार नै धरहरा निर्माण गरिएको छ । सुरक्षाका हिसावले पूर्ण विश्वास गर्न सक्ने अवस्थामा धरहरा निर्माण पूरा भएको हो । केही समय निःशुल्क रूपमा नै धरहरा चढ्न सकिने उनले बताए । रंगरोगन र शृंगारका केही कामहरू बाँकी रहे पनि यसले खास समस्या नपर्ने उनले जानकारी दिए । धरहरा निर्माणको जिम्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पाएको थियो । प्राधिकरणको अवधि सकिएपछि सहरी विकास मन्त्रालय मातहत सहरी विकास तथा भवन निर्माण विभागलाई बाँकी निर्माणको काम हस्तान्तरण गरिएको थियो । त्यसपछि भवन विभागले नै यो आयोजना सञ्चालन गरिरहेको छ ।

धरहरा पुनर्निर्माण गर्नका लागि २०७५ साल असोज १४ गते जीआईईटीसी–रमण जेभीले ठेक्का पाएको थियो । २ वर्षभित्र निर्माण पूरा गरिसक्नुपर्ने समयसिमा राखेर ठेक्का लिएको रमन जेभीले छैटौंपटक म्याद थप गरि सकेको छ । धरहरा निर्माणको काम अब लगभग अन्तिमचरणमा पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्