(पिएसजी) लाई लगातार चौथोपटक फ्रेन्च कप उपाधि
पेरिस (एजेन्सी) । पेरिस सेन्ट जर्मेन (पिएसजी) फ्रेन्च कप फुटबलमा लगातार चौथोपटक च्याम्पियन बनेको छ । मंगलबार राति भएको फाइनलमा तेस्रो डिभिजनको लेस हेर्बीएर्सलाई २–० ले पराजित गर्दै पिएसजीले सिजनको दोस्रो उपाधि हात पारेको हो ।
पिएसजी सन् २०१५ देखि फ्रेन्च कपमा लगातार च्याम्पियन बनिरहेको छ । पिएसजीले फ्रेन्च कप जितेको यो १२ औं पटक हो । टोलीलाई च्याम्पियन बनाउन जिओभानी लो सेल्सो र एडिन्सन काभानीले गोल गरे ।
स्टेट डी फ्रान्स स्टेडियममा भएको खेलको २६ औं मिनेटमा सेल्सोले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । काभानीले ७४ औं मिनेटमा पेनाल्टीमा गोल गरेका हुन् ।
चोटका कारण करिब दुई महिनायता मैदान बाहिर रहेका ब्राजिली स्टार खेलाडी नेयमार जर्सीसहित उपाधि उचाल्न पुगेका थिए । लिग वानमा मार्सेविरुद्धको खेलमा चोट लागेपछि उनी ब्राजिलमै उपचाररत थिए ।
प्रतिक्रिया दिनुहोस्