विश्व बिरामी सुरक्षा दिवस: सहि गरौँ ,सुरक्षित गरौँ

काठमाडौं, २ असोज । विश्व बिरामी सुरक्षा दिवस हरेक वर्ष सेप्टेम्बर १७ मा मनाइन्छ । यो दिवस सन् २०१९ मा ग्लोब एक्सन अन पेसेन्ट सेफ्टी (बिरामी सुरक्षा सम्बन्धी विश्वव्यापी रणनीति) को प्रस्ताव को स्वीकृति मार्फत ७२ औँ विश्व स्वास्थ्य सभाद्वारा स्थापित भएको थियो ।

विश्व बिरामी सुरक्षा दिवस बिरामीको सुरक्षामा सुधार गर्न र स्वास्थ्य संस्थाहरुमा हुनसक्ने क्षति÷हानि कम गर्न बिरामी, स्वास्थ्यकर्मी, नीति निर्माता, र स्वास्थ्य सेवा क्षेत्रमा रहनु भएका नेतृत्वहरू बीचमा जनचेतना बढाउने, विश्वव्यापी बुझाइ बढाउन र पैरवी गर्ने अवसर हो ।
असुरक्षित हेरचाहका कारण वार्षिक ३० लाखभन्दा बढीको मृत्यु हुने र विश्वभरका हरेक १० बिरामीमध्ये १ जना स्वास्थ्य सेवाको क्रममा हानि हुने गरेको अध्ययनले देखाएको छ । न्यून देखि मध्यम आय भएका देशहरूमा १०० मध्ये ४ जनाको असुरक्षित हेरचाहका कारण मृत्यु हुने गरेको छ । यी हानि ५०% भन्दा बढी औषधीले गर्दा हुने गर्दछ भने यी हानि करिब ५०% रोकथाम गर्न सकिन्छ ।

बिरामीमा रोकथाम गर्न सकिने यस्ता हानिको प्रतिकूल घटनाहरूमा औषधीसँग सम्बन्धित त्रुटि, असुरक्षित शल्यक्रिया प्रक्रिया, संक्रमण, निदानका क्रममा हुने त्रुटि, बिरामीको गलत पहिचान, र असुरक्षित रक्तक्षेपण समावेश छन् । बिरामीमा हुने हानिले सम्भावित रूपमा विश्वव्यापी आर्थिक वृद्धिलाई वार्षिक ०.७% ले घटाउँछ जसको लागत खरबौँमा हुन आउँछ । अर्थिक भार कम गर्न र बिरामीको स्वास्थ्यमा सुधार ल्याउन बिरामीमा हुने हानि न्यूनीकरण गर्नको लागि लगानी आवश्यक छ ।

यस वर्षको मूल नारा र नारा
यस वर्ष, विश्व बिरामी सुरक्षा दिवस २०२४ को मूल नारा निदानमा सुधार:  बिरामी सुरक्षाको आधार ले बिरामीहरूको सुरक्षामा सही र समयमै निदानको महत्वपूर्ण भूमिकालाई जोड दिएको छ । यस दिवसको नारा सहि गरौँ ,सुरक्षित गरौँ ले सोचको प्रवृत्ति, मानव कारकहरू, र बिरामी, परिवार, स्वास्थ्यकर्मी, र नेतृत्वहरूको सक्रिय संलग्नतामा आधारित बहुपक्षिय हस्तक्षेपहरू मार्फत निदान त्रुटिहरू कम गर्न सामन्वयात्मक प्रयासहरूको लागि आह्वान गर्दछ । यी प्रयासहरूमा व्यापक बिरामीको स्वास्थ्य समस्या, पूर्ण परीक्षण, निदान परीक्षणहरूमा सुधारिएको पहुँच, निदान त्रुटिहरूको मापन र सिकाइ विधिहरू, र प्रविधिमा आधारित समाधानहरू समावेश छन् ।

प्रतिक्रिया दिनुहोस्