भारतको अदालतद्वारा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न आदेश

काठमाडौं, २८ भदौ। भारतको सर्वोच्च अदालतले दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई धरौटीमा छाड्न आदेश दिएको छ।

दिल्लीको मदिरा सम्बन्धी नीतिमा घोटाला गरेको भन्दै सिबिआईको हिरासतमा रहेका केजरीवाललाई शुक्रबार सर्वोच्च अदालतले जमानतमा छाड्न आदेश दिएको हो।

न्यायाधीशहरू सूर्यकान्त र उज्‍वल भुयनले मुख्यमन्त्री केजरीवाललाई १० लाख धरौटीमा छाड्न आदेश दिएको टाइम्स अफ इन्डियाले जनाएको छ। तिहाड जेलमा रहेका केजरीवाललाई शुक्रबार नै छाड्ने तयारी छ।

आम आदमी पार्टीका नेता ६ महिनापछि जेलबाट निस्किन लागेका हुन्। यसअघि इन्फोर्समेन्ट डाइरेक्टरेटले पक्राउ गर्दा पनि उनी जमानतमा छुटेका थिए।

यसपालि जेलबाट छुटे पनि केजरीवाल लेफ्टिनेन्ट गभर्नर भिके सक्सेनाको अनुमति बिना मुख्यमन्त्री कार्यालय वा कुनै कागजातमा हस्ताक्षर गर्न पाउने छैनन्।

सिबिआईले उनलाई जुन २६ मा पक्राउ गरेको थियो। यसविरूद्ध केजरीवालले आफूलाई गैरकानुनी रूपमा पक्राउ गरिएको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए।

प्रतिक्रिया दिनुहोस्