थारु समुदायले आज अटवारी पर्व उल्लासपूवर्क मनाउँदै
काठमाडौं, २३ भदौ । थारु समुदायले आज अटवारी पर्व उल्लासपूवर्क मनाउँदै छन् । पश्चिम नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु समुदायले आज अटवारी पर्व उल्लासपूवर्क कृष्ण जन्माष्टमीपछिको पहिलो आइतबारका दिन मनाइने यो पर्वपछि उक्त समुदायमा आफ्नो लोक संस्कृतिसँग सम्बन्धित नाँचगान एवं सांस्कृतिक कार्यक्रम आरम्भ भएको मानिन्छ ।
आपसी सद्भाव, एकता र सम्बन्ध सुदृढ पार्ने पर्वका रूपमा लिइने यो पर्व खासगरी दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा बसोबास गर्ने थारु समुदायमा परम्परागत रूपमा मानाउने गरिन्छ ।
वर्षा ऋतुमा खेतीको काममा निकै व्यस्त रहने यो समुदायका व्यक्ति अटवारी पर्वपछि भने कामको बोझ हटेर पाइने फुर्सद समयको उपयोग गर्दै टोल–टोलमा आफ्नो मौलिक सांस्कृतिक कार्यक्रम गरेर रमाइलो गर्ने गर्दछन् ।
यो पर्वमा दाजुभाइले दिदीबहिनीको दीर्घायुको कामना गर्दै पानीसमेत नखाई दिनभर व्रत बस्ने प्रचलन छ । यसरी व्रत बसेकाले साँझपख आ–आफ्नो घरमा खानाका मीठा परिकार पकाइसकेपछि पूजामा बस्ने गर्दछन् । पूजाको काम सकिएपछि पकाइएका खानाका परिकारलाई व्रतालुले प्रसादका रूपमा ग्रहण गर्ने चलन छ ।
यो पर्वमा पूजाको काम सकिएपछि छोरी–बहिनीका लागि अलग्गै छुट्याइने खानाको परिकारलाई ‘अग्रासन’ भनिन्छ । छोरी–बहिनीलाई अग्रासन दिने काम सकिएपछि यो पर्वको समापन भएको मानिन्छ । पर्वको दोस्रो दिन बिहानै यसरी छुट्याइएको अग्रासन आफ्नी छोरी–बहिनीको घरसम्म पुर्याइदिने चलन छ ।
महाभारतको युद्धमा पराजित भई वनबास जान बाध्य भएका पाण्डवमध्येका भीमले वनबासमा रहेको समयमा देखाएको बहादुरीको खुसीयाली र स्मरणमा उनकै पूजा गरी यो पर्व मनाउने प्रचलन सुरु भएको डगौंरा चौधरी समुदायका अगुवा बताउँछन् । अटवारी पर्वको अवसरमा आज सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्