टानको नेतृत्वमा कसरी बाजी मारे पाण्डेले ?

काठमाडौं । पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संगठन ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान) को ४६औं साधारण सभा भरखरै सम्पन्न भएको छ । सो साधारण सभाले नयाँ नेतृत्व पाएको छ ।

सभाबाट एशोसिएसनको अध्यक्षमा सागर पाण्डे विजयी भए । नवनिर्वाचित अध्यक्ष पाण्डे नेकपा (माओवादी केन्द्र) निकट उम्मेदवार हुन् । सत्तारुढ दल नेपाली काँग्रेस र नेकपा एमालेका तर्फबाट अध्यक्ष पदका साझा उमेदवार राजेन्द्रप्रसाद सापकोटालाई पराजित गरी टानको अध्यक्ष जस्तो गरिमामय पदमा पाण्डे विजयी भएका हुन् ।

पाण्डेले ५८० मत ल्याएर निर्वाचित हुँदा सापकोटाले जम्मा ४८० मतमात्रै पाए । पाण्डेले निर्वाचन जित्नु तर सत्ता गठबन्धन दल कांग्रेस र एमालेका साझा उम्मेदवार सापकोटा पराजित हुनुले पर्यटन क्षेत्र नै हिजोआज चर्चामा रहेको छ ।

यो चर्चा हुनु स्वभाविक पनि हो । तर पाण्डेले यस्तो अवस्थामा पनि निर्वाचन जित्नु भनेको स्वभाविक होइन । किनकी सत्ता गठबन्धन दल कांग्रेस र एमालेका साझा उम्मेदवार सापकोटालाई निर्वाचन हराउनु चानचुने कुरै थिएन । तर पाण्डेले व्यवसायीको साझा एजेण्डा बोकेको र सम्पूर्ण व्यवसायीको मन जित्न सकेकाले नै यो निर्वाचन जित्त सफल भएको हो । पाण्डेलाई विषम परिस्थितिमा पनि टानको अध्यक्षमा निर्वाचित भएकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले समेत शुभकामना व्यक्त गरे । यसले पनि टानमा निर्वाचन जित्न कति चुनौती थियो भन्ने संकेत गर्दछ ।

तर, उनले टानको महासचिव भएर काम गर्दै गर्दा पनि आफ्नो दक्षता र क्षमता प्रदर्शन गरेका, सबै व्यवसायीको हक अधिकारको लागि संघर्ष गरेका, मिलनसार, सहयोगी भावना भएकाले टानको नेतृत्व नै सशक्त भएको थियो । त्यसैको प्रतिफल पनि यो निर्वाचन सफल भएको व्यवसायीहरुको बुझाई छ । टानलाई व्यवसायीमैत्री बनाउन सक्ने क्षमता राख्ने योग्य उमेदवारको खोजीमा व्यवसायी रहेको र गोप्य मतदान भएकाले धेरै व्यवसायीले पाण्डेको पक्षमा मतदान गरेकाले पाण्डेले बाजी मारेको एक व्यवसायीले बताए ।

व्यवसायीहरूको संस्थामा व्यवसायीहरूले नै आफ्नो नेतृत्व चयन गर्न सक्षम भएकोले व्यवसायीले पाण्डेलाई निर्वाचित गरेको व्यवसायीले बताए । अब व्यवसायीको समस्या समाधान गर्न पनि सहज हुने बताए । उनले व्यवसायमा राजनीति घुसाउने नभई व्यवसायीका हकहितका लागि टानले काम गर्न सक्ने सक्षम नेतृत्व आवश्यक भएको र आज टानले त्यो नेतृत्व पाएको उनको दावी छ ।

अध्यक्षमा विजयी भए पश्चात खुशी व्यक्त गर्दै अध्यक्ष पाण्डेले आफूले कसैलाई पनि काखापाखा नगरी व्यवसायीको हकहितमा काम गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले पर्यटन क्षेत्रमा धेरै कुरा सुधारको खाँचो रहेको बताउँदै पर्यटन क्षेत्र आर्थिक विकासको मेरुदण्ड भएकोले सुधारका लागि सक्षम नेतृत्वसँगै टिम पनि आवश्यक पर्ने बताए । उनले दुई वर्षे कार्यकालमा गर्न सक्ने जति सबै काम गर्न आफ्नो टिम लागिपर्ने बताए । पर्यटन क्षेत्रमा अपार सम्भावना छ र यसबाट दिगो विकासको लक्ष्य हासिल गर्न पनि सक्ने भएकाले तत्कालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाएर काम गर्ने बताए ।

पाण्डेले विपक्षीले हामी नै जित्छौं, आफ्नै सरकार छ, काम गर्न पनि सक्छौं भन्ने दम्भ देखाएको तर त्यसलाई हामीले चिर्न सफल भएको बताए । उनले भने, ‘स्वार्थरहित हिसाबले काम गछौं भनेर हामीले प्रतिबद्धता जनाएका थियौं, मतदाताले हामीलाई विश्वास गर्नुभयो । निर्वाचित भइयो, यसका लागि धन्यवाद व्यक्त गर्दछु ।’

पाण्डे तीन दशकदेखि पर्यटन व्यवसायमा आबद्ध छन् । उनको जन्मस्थल गोरखाको भीमसेन थापा गाउँपालिका अश्राङ हो भने काठमाडौं व्यवसायी स्थल हो ।

हालै सम्पन्न टानको निर्वाचित पाण्डे नेतृत्वमण्डलमा वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा, प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल, द्वितीय उपाध्यक्षमा सनम शेर्पा, महासचिवमा सोनाम ग्याल्जेन शेर्पा, सचिवमा रिन्जी जाङ्बु शेर्पा, कोषाध्यक्षमा गौतमराज वाग्ले छन् ।

त्यस्तै सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा, महिला सदस्यमा पवित्रा तामाङ, खुला सदस्यमा छाप्ते लामा शेर्पा, राजु गुरूङ, फुर्वा छिरिङ भोटे, सागर राई, विकास गुरुङ, होमबहादुर विश्वकर्मा र विनोदकुमार तामाङ निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्