ओलीलाई प्रचण्डको जवाफ–जनताको राउण्ड किक् कस्तो हुन्छ समयले बताउने

काठमाडौं, २० भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका नेताहरुले संविधान विपरीतका अभिव्यक्ति दिइरहेको भन्दै त्यसको भण्डाफोर गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

आज शहीदद्वय शेरमान कुँवर (विशाल) र मोहनचन्द्र गौतम (कुमार) को स्मृतिमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले कार्यकर्तालाई सो निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डलाई राउण्ड किक् हानेको भनेर दिएको अभिव्यक्तिको पनि प्रचण्डले जवाफ फर्काए । भने, ‘प्रचण्डलाई राउण्ड किक् हानेको भनेर प्रधानमन्त्रीले बालेका छन् त्यो प्रधानमन्त्री जस्तो ब्यक्तिले दिएको गैर जिम्मेवार अभिब्यक्ति हो । उनले थपे अब जनताको राउण्ड किक कस्तो हुन्छ तिनले देख्नेछन् ।’

संविधानको ब्याख्यात्मक टिप्पणीमा सशस्त्र संघर्ष भनेर माओवादी जनयुद्धलाई बुझाउने छ भनेर स्पष्टसँग लेखिए पनि सत्तारुढ दलका कतिपय नेताहरुले संविधानको व्यवस्था विपरीत बोलेको गुनासो समेत प्रचण्डले गरे ।

पूर्वप्रधानमन्त्री प्रचण्डले यस्ता अभिव्यक्ति र प्रवृत्तिको भण्डाफोर गर्नुपर्ने बताए । अहिले सत्तारुढ दलकै केहि नेताहरुले जनयुद्धलाई हिंसा, हत्या, आतंक थियो भन्ने दुस्सास गर्ने गरेका छन्, संविधानविपरीत बोल्ने नेताहरुको भण्डाफोर गर्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्