आईएसद्वारा नेयमार र मेस्सीलाई ज्यानको धम्की

लन्डन (एजेन्सी) । कुख्यात आतङ्ककारी समूह इस्लामिक स्टेट (आईएस) ले २०१८ को फुटबल विश्वकपलाई लक्षित बनाई विश्वप्रसिद्ध फुटबल स्टार लियोनल मेस्सी र नेयमारको तस्बिर सार्वजनिक गरेको छ ।

सार्वजनिक गरिएको यस तस्बिरमा मेस्सी टाउको काटिएको र आईएसको झन्डा छेऊमा लडिरहेको देखाइएको छ भने नेयमार रुँदै घुंडामा उभिएका छन् । आफ्ना मुस्लिम देशहरु सुरक्षित नभएसम्म कतै सुरक्षित नहुने आईएसको पोस्टरमा लेखिएको छ ।

यो फोटो इस्लामिक स्टेट मिडिया फाउन्डेसनद्वारा फोटोसप गरिएको हो । यस तस्बिरप्रति चिन्ता व्यक्त गर्दै अर्जेन्टिना फुटबल संघका अध्यक्ष क्लाउडियो टापियाले रुससँग सुरक्षासम्बन्धि छलफल पनि गरेका छन् ।

विश्वकप २०१८ को प्रतियोगिता स्थल रहेको भोल्गोग्राड एरिनामा एक आईएस लडाकुको बम सहितको तस्बिर पनि विश्वकपलाई लक्षित गरेर आईएसले सार्वजनिक गरेको थियो ।

विश्व खेलकुदमै सबैभन्दा ठूलो र लोकप्रिय मानिने विश्वकपको आउने संस्करण सन् २०१८ को जुन १४ देखि जुलाई १५ सम्म खेलिने छ ।

प्रतिक्रिया दिनुहोस्