काठमाडौं महानगरले बञ्चरेडाँडा ल्यान्डफिल साइट सीसीटीभीबाट निगरानी गर्दै

काठमाडौं,२० भदौ । काठमाडौं उपत्यकाको फोहरमैला व्यवस्थापन हुँदै सेनेटरी ल्यान्डफिल साइटको निगरानी काठमाडौं प्लाजाबाट सुरु भएको छ । फोहोर व्यवस्थापन हुने गरेको ल्यान्डफिल साइट बञ्चरेडाँडामा रहेको छ ।

संस्थागत सुधारको कार्यक्रममध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानकारी तथा सूचना लिन सीसीटीभी क्यामरा जडान गरिएको हो । साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेशसहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको हो ।

क्यामराबाट प्राप्त दृश्य महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारको कार्य कक्षबाट निगरानी हुनेछ । साथै, वातावरण व्यवस्थापन विभागमा पनि दृश्य हेर्न सकिने बनाइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत परियारका अनुसार स्वचालित प्रणाली बढाएर संस्थागत सुदृढीकरण गर्ने क्रममा ल्यान्डफिल साइटमा अत्याधुनिक सीसीटीभी क्यामेरा जडान गरिएको हो । अब साइट व्यवस्थापनको काममा खटिएका जनशक्ति, कार्यालय, साइटमा पुग्ने सडक, सुरक्षा वुथ देखिने गरी क्यामरा राखिएका छन् ।

सूचना प्रविधि विभागका प्रमुख अनिरुद्र नेपालले भने पछिल्लो समयमा जडान गरिएका क्यामरा अटोमेटिक नम्बर प्लेट रिकोग्निजेसन (एएनपीआर) क्यामरा हुन्, यसबाट भिडियोको आवाज पनि सुन्न सकिन्छ । यसले डिजिटल मात्र होइन, हातैले लेखेका नम्बर प्लेट पनि पढ्न र रेकर्ड राख्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्