उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई प्रधानमन्त्री ओलीको निर्देशन, दसैँ तिहारमा खाद्यवस्तु सहज आपूर्तिको व्यवस्था होस्
काठमाडौं, १७ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले दसैँ तिहारलगायत महत्वपूर्ण चाडका समयमा खाद्य वस्तुको सहज आपूर्ति हुने गरी काम गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा प्रधानमन्त्री ओलीले खाद्य वस्तुको कृत्रिम अभाव सृजना गर्ने, मानवीयता र व्यवसायिकताभन्दा नाफा र स्वार्थ मात्रै देख्ने प्रवृत्तिसँग सम्झौता नहुने बताए। ‘चिनीलगायत सामानमा कालोबजारी गरेर बढी नाफा लिने प्रवृत्ति हुन सक्छ, त्यस्तो गर्ने व्यापारीलाई व्यापार गर्न नदिएर साल्ट ट्रेडिङलाई जिम्मेवारी दिन सकिन्छ। यस्ता विषयमा कुनै सम्झौता हुँदैन, कुनै भनसुन चल्दैन,’ उनले भने।
उद्योगमन्त्री दामोदर भण्डारी, मुख्यसचिव एकनारायण अर्याल, सचिवहरूसहितको छलफलमा प्रधानमन्त्री ओलीले समग्रमा आयात घटाउन र निर्यात बढाउन तथा विषादीयुक्त खाद्य पदार्थ आयात–निर्यात नगर्न आग्रह गरे।
उनले नेपालमा फलाम, युरेनियम आदि खानीजन्य पदार्थको उत्खनन्को क्रम चले पनि तिनलाई कच्चा पदार्थमा बिक्री वितरण नगरी उद्योग सञ्चालन र सामग्री उत्पादनमा प्राथमिकता दिन भनेका छन्।
प्रधानमन्त्री ओलीले जोखिमयुक्त स्थानमा रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित नेपाल आयल निगमको भण्डारण र थानकोटको डिपोलाई बस्ती कम भएको स्थानमा स्थानन्तरण गर्न निर्देशन दिए। उनले दैलेखको पेट्रोलियम पदार्थको उत्खनन् कार्य छिटो सक्न आग्रह गर्दै पुँजीपतिलाई नाफा हुन्छ भन्दैमा मानवीय स्वास्थ्य र मुलुकको छविमा प्रतिकस्ल असर पर्ने गाँजा खेतीजस्ता काममा धेरै नहौसिन सुुझाए।
यसअघि प्रधानमन्त्री ओलीले सोही मन्त्रालयको उद्योग क्षेत्रसँग सम्बन्धित विषयमा ब्रिफिङ लिएका थिए।
प्रतिक्रिया दिनुहोस्