युक्रेनको अमेरिकी एफ–१६ लडाकु विमान रूसी हमलामा खस्यो
काठमाडौं, १४ भदौ । युक्रेनले नेटो राष्ट्रहरूबाट पाएको एउटा अमेरिकी एफ–१६ लडाकु विमान युद्धको क्रममा खसेको छ।
युक्रेनी सेनाले बिहीबार एक विज्ञप्ति जारी गर्दै सो एफ–१६ लडाकु विमान पाएको रक्षात्मक प्रयोजनका लागि प्रयोग भइरहेको बेलामा खसेको र त्यसका एक पाइलटको मृत्यु भएको जनाएको छ।
गत सोमबार रूसले एकैपटक धेरै स्थानमा २०० भन्दा बढी मिसाइल र ड्रोनले आक्रमण गरेको थियो। सो हमलालाई विफल पार्न युक्रेनले भर्खरै प्राप्त एफ–१६ लडाकु विमान र विमान झार्ने मिसाइलहरूको प्रयोग गरेको थियो। त्यस क्रममा रूसी मिसाइल खसाउन खटाइएको सो विमान दुर्घटना भएको युक्रेनले जनाएको छ।
एफ(१६ लडाकु विमानहरूले चार वटा रूसी क्रुज मिसाइल खसालेको पनि सो वक्तव्यले दाबी गरेको छ।
युक्रेनका अनुसार एफ–१६ लडाकु विमानहरू रक्षात्मक कारबाहीका लागि गइरहेको बेला एउटा विमानसँग सम्पर्क टुटेको थियो। पछि सो विमान दुर्घटना भएको र पाइलटको मृत्यु भएको बताइएको थियो।
एक युक्रेनी सांसदले अमेरिकी प्याट्रिएट मिसाइल(डिफेन्स सिस्टमले रूसी आक्रमण रोक्ने क्रममा भूलवश सो लडाकु विमान खसालेको दाबी गरेकी छन्। तर युक्रेनले सो विमान के कारणले खसेको भनेर जानकारी दिएको छैन र कारण पत्ता लगाउन छानबिन सुरू गरिसकेको बताएको छ। रूसले पनि अहिलेसम्म आफूले सो विमान खसालेको दाबी गरेको छैन।
समाचार संस्था रोएटर्सले अमेरिकी रक्षा अधिकारीलाई उद्धृत गर्दै सो विमान रूसी हतियारका कारण नभएको देखिएको बताएको छ। उक्त अमेरिकी रक्षा अधिकारीले पाइलटको गल्ती वा विमानमा केही बिग्रिएर वा अरू कुनै कारणले दुर्घटना भएको भनेर छानबिन भइरहेको बताएका छन्।
रूसको कुर्स्क क्षेत्रमा सफलता हात पारेपछि युक्रेनी सेनाको मनोबल बढेका बेला यो दुर्घटना भएको हो।
युक्रेनले नेटो राष्ट्रहरूबाट पाएको करिब आधा दर्जन एफ–१६ लडाकु विमान सोमबार रूसी हमला विफल पार्न नै पहिलोपटक युद्धका लागि प्रयोग गरिएको थियो। पहिलो चरणमा सीमित विमान पाएको र ती विमान चलाउन तालिम पाएका युक्रेनी पाइलट पनि सीमित भएकाले उक्त क्षति युक्रेनका लागि ठूलै भएको मानिन्छ।
युक्रेनलाई ती एफ–१६ लडाकु विमान जुलाई अन्तिममा हस्तान्तरण गरिएको थियो।
युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्सकीले लामो समयदेखि मागिरहेको अमेरिकामा निर्मित एफ–१६ लडाकु विमान दिन अमेरिकी राष्ट्रपति जो बाइडेनले मे २०२३ मा सहमति दिएका थिए। त्यसको १४ महिनापछि एफ–१६ लडाकु विमान अन्ततः युक्रेनको हात लागेको थियो।
अमेरिका आफैले एफ–१६ लडाकु विमान दिने नभने पनि बेल्जियम, डेनमार्क, नेदरल्यान्ड्स र नर्वेले युक्रेनलाई ८० वटा सो विमान उपलब्ध गराउने वाचा गरेका छन्। युक्रेनको हात लागेका विमान त्यही वाचा अनुसार प्राप्त भएका हुन्।
युक्रेनसँग अहिले आफू सोभियत संघको अंग हुँदाका पुराना लडाकु विमानहरू मात्रै छन्। रूससँग सोभियत संघ विखण्डन भएपछि बनाएका आधुनिक लडाकु विमान पनि भएकाले हवाइ युद्धमा रूस युक्रेनमाथि हाबी छ।
अमेरिकी सेनाले अहिले प्रयोग गर्ने अत्याधुनिक एफ–३५ लडाकु विमानभन्दा पुराना भए पनि एफ१६ विमान युक्रेनसँग हाल भएका लडाकु विमानभन्दा आधुनिक र धेरै शक्तिशाली छन्। अमेरिकाले दिइरहेका हतियारहरू प्रयोग गर्न मिल्ने भएकाले यसले रूससँगको युद्धमा महत्वपूर्ण सफलता दिलाउने युक्रेनको आशा छ।
युक्रेनले रूसको कुर्स्क क्षेत्रमा सफलता हात पारेपछि रूसको अझै भित्र ती विमान र अमेरिकी हतियार प्रयोग गरेर आक्रमण गर्न अमेरिकाको अनुमति मागिरहेको छ।
प्रतिक्रिया दिनुहोस्