कोशी सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी केन्द्र
काठमाडौं,१४ भदौ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । माओवादी सरकारबाट बाहिरिएको १ महिनापछि शुक्रबार माओवादीले समर्थन पनि फिर्ता लिने भएको हो । हाल कोशीमा नेकपा (एमाले) नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार छ ।
एकाएक केन्द्रमा नेपाली कांग्रेस र एमालेबीच गठबन्धन बनेपछि कार्की नेतृत्वको सरकारबाट माओवादी साउन ११ बाहिरिएको थियो । तर, सरकारलाई दिएको समर्थन यथावत राखेको थियो । यसबीच माओवादी अध्यक्षले यति लामो समयसम्म सरकारलाई दिएको समर्थन फिर्ता नलिनुको पछि केहि चलखेल गर्न सकिने अनुमानका कारण यो प्रक्रिया लम्बिदै आएको थियो । आज दिउँसो १ बजे प्रदेशसभा बैठक बस्दै छ ।
बैठकअघि सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी रहेको माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । उनका अनुसार यसअघि सरकारबाट पार्टी बाहिरिएको भए पनि सरकारलाई दिएको समर्थन भने कायमै राखेको थियो ।
माओवादी संसदीय दलको बैठक आज बस्दैछ । दलको बैठकपछि सरकारको समर्थन फिर्ता लिएर माओवादी प्रतिपक्षमा बस्छ । कांग्रेस भने प्रदेश सरकारमा सहभागी भएको छैन ।
आन्तरिक किचलोमा फसेको कांग्रेसले मन्त्रीको नाम टुंगो लगाउन नसक्दा सरकार विस्तार अनिश्चित बनेको छ । सरकारमा नगए पनि कांग्रेसले आजको प्रदेशसभा बैठकमा भने सत्तापक्षको बेन्चमा बस्ने तयारी गरेको छ । एमाले नेता कार्कीलाई संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनाउन माओवादीले सहयोग गरेको थियो ।
माओवादीको समर्थनमा गत वैशाख २७ गते कार्की मुख्यमन्त्री बनेका हुन् । कांग्रेस र एमालेबीच नयाँ समीकरण बनेपछि माओवादी प्रतिपक्षमा पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्