माओवादी केन्द्रका अध्यक्षको अभिव्यक्ति कुण्ठापूर्ण र गैरजिम्मेवार : एमाले
काठमाडौं,१३ भदौ । नेकपा एमालेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । नेपाल पनि बंगलादेश र श्रीलंकाजस्तै बन्ने दाहालको अभिव्यक्तिप्रति एमालेको सचिवालय बैठकले आपत्ति जनाएको हो । विश्वका विभिन्न घटनालाई नेपालसँग जोडेर गैरजिम्मेवार अभिव्यक्ति नदिन एमालेले माओवादीलाई ध्यानाकर्षण गराएको छ ।
दाहालले गत मंगलबार संसदमा नेपाल बंगलादेश र श्रीलंकाजस्तै बन्नसक्ने चेतावनी दिएका थिए । उनले पटक पटक अभिव्यक्तिलाई दोहोर्याउँदै आएका छन् ।
बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले संसदका कतिपय दलहरू खासगरी सत्ताबाट बाहिरिका माओवादीले विश्वका विभिन्न घटनाक्रमलाई नेपालसँग जोडेर दिएको आवेगपूर्ण टिप्पणी र प्रतिक्रिया गैरजिम्मेवार रहेको बताएको छ । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले त्यस्ता आवेगपूर्ण अभिव्यक्ति नदिन ध्यानाकर्षण गराउने निर्णय भएको बताए ।
उनले पछिल्लो समय समाजमा अराजकताको प्रवृत्ति देखा पर्न थालेको अवस्थामा सबै दल मिलेर यसको समाधान खोज्नुपर्नेमा बैठकको जोड रहेको बताए । बैठकले पछिल्लो राजनीतिक घटनाक्रमका साथै एमाले-कांग्रेस सरकारको संक्षिप्त समीक्षा गर्दै सरकारको प्रारम्भिक कामप्रति सन्तुष्ट व्यक्त गरेको ज्ञवालीले बताए ।
बैठकले आगामी भदौ २६ गते स्वर्गीय सुवास नेम्वाङको प्रथम स्मृतिसभा आयोजना गर्ने निर्णय गरेको छ । त्यस्तै, प्राकृतिक विपतिमा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली र घाइतेको स्वास्थ्यलाभको कामना गर्दै विपद् व्यवस्थापनको कामलाई थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय समेत गरिएको ज्ञवालीले बताए ।
प्रतिक्रिया दिनुहोस्