अमेरिकामा नेपाली छात्रा मुना पाण्डेलाई गोली हानी हत्या गरेको आरोपमा एक पक्राउ

काठमाडौं,१३ भदौ । अमेरिकामा भोजपुर स्थाई घर भएकी २१ वर्षीया नेपाली छात्रा मुना पाण्डेको हत्या भएको छ । सो हत्यामा संलग्न रहेको आरोपमा त्यहाँको प्रहरीले एक संदिग्धलाई पक्राउ गरेको हो ।

ह्युस्टन प्रहरीले ती संदिग्धलाई आज ट्राफिक जामको समयमा पक्राउ गरेको प्रहरीलाई उद्धृत गर्दै अमेरिकाबाट प्रकाशन हुने अखबार नेप्योर्कले उल्लेख गरेको छ ।

बुधबार प्रहरीले मुना मृत भेटिएको घरबाट शनिबार एक संदिग्ध बाहिरिँदै गरेको तस्बिर सार्वजनिक गरेको थियो । प्रहरीले संदिग्धलाई देखे खबर गर्नका लागि मानिसहरूलाई अपील गरेको थियो । ट्राफिक लाइटमा सवारी साधन रोकिँदा उनी देखिएपछि स्थानीयले नै प्रहरीलाई खबर गरेको पछि तत्काल ती संदिग्धलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीले उनको पक्राउबारे अरू विषय खुलाएको छैन । आरोपीमाथि अनुसन्धान भइरहेको र हत्याको कारण र उद्धेश्य खुलेपछि प्रहरीले पक्राउ परेका व्यक्तमाथि मुद्दा चलाउने बताएको छ ।

ह्युस्टन प्रहरीले शनिबार पश्चिम ब्युलवार्ड एअरपोर्ट नजिक रहेको मुनाको घरबाट एक प्रौढ उमेरका पुरूष बाहिरिँदै गरेको सिसीटिभी फुटेज सार्वजनिक गरेको थियो ।

शनिबारदेखि संपर्क बिहिन रहेकी उनी सोमबार आफ्नै घरमा मृत भेटिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्