एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनको निर्वाचन मतदान ५:३० बजे
काठमाडौं, ११ भदौ । नेकपा एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य चयनका लागि हुन लागेको निर्वाचनको मतदान साढे ५ बजेका लागि सरेको छ । मंगलबार दिउँसो ३ बजेदेखि सुरु हुने भनिएको मतदान साँझ साढे ५ बजेका लागि सरेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।
एकीकृत समाजवादीमा १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयनका लागि मतदान हुन लागेको हो । उम्मेदवारको अन्तिम नामावली सार्वजनिक हुँदा वरिष्ठ उपाध्यक्षमा भने राजेन्द्र पाण्डे सर्वसम्मत भएका छन् ।
यसअघि दशौँ महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिव चयन भएपनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन । उसो त केन्द्रीय कमिटीसमेत एकीकृत समाजवादीले केही अघिमात्रै टुंगो लगाएको थियो ।
जारी केन्द्रीय समिति बैठकबाटै पदाधिकारी र पोलिटब्युरो सदस्य सर्वसम्मत चयन गर्ने प्रयास भएपनि त्यो सम्भव नभएपछि अध्यक्ष माधव नेपालले चुनावमा जाने निर्णय लिएका थिए ।
जसअनुसार एकीकृत समाजवादीको महिला उपाध्यक्ष पदमा नेतृहरू रामकुमारी झाँक्री र जयन्ती देवी राईबिच प्रतिस्पर्धा हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले मंगलबार सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीअनुसार यी दुई नेतृबिच भिडन्त पक्का भएको हो ।
यसैगरी उपाध्यक्ष (मधेसी समुदाय) मा धर्मनाथ प्रसाद साह र रामचन्द्र झाको उम्मेदवारी रहँदा खुला उपाध्यक्ष पदमा ११ जनाको उम्मेदवारी परेको छ । खुला उपाध्यक्ष पदमा गङ्गालाल तुलाधर, प्रकाश ज्वाला, जगन्नाथ खतिवडा, साध्यबहादुर भण्डारीलगायतको उम्मेदवारी परेको हो ।
यसैगरी महासचिव पदमा मेटमणि चौधरीसहित १९ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारको अन्तिम सूचीअनुसार १९ जनाले उम्मेदवारी दिएका हुन् ।
उम्मेदवारी दिनेमा चौधरीसहित लक्ष्मण केसी, राजेन्द्र कुमार राई, जीवनराम श्रेष्ठ, गोमा विष्ट लगायत छन् ।
यस्तै सचिव पदमा ४१ जनाले उम्मेदवारी दिएका छन् । उम्मेदवारको सूचीअनुसार सचिव (दलित समुदायतर्फ) ३ जनाको उम्मेदवारी परेको छ।
यसैगरी सचिव (आदिवासी जनजातितर्फ) ३ जना तथा ५ जना निर्वाचित हुने खुला सचिव पदमा २६ जनाको उम्मेदवारी परेको छ । सो पार्टीमा कुल ७ जना सचिव निर्वाचित हुने प्रावधान छ ।
यसैगरी पोलिटब्युरो सदस्यमा २०२ जनाको उम्मेदवारी परेको छ। जसमध्ये १०५ जना निर्वाचित हुने विधानमा व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्