नाडा अटो शो आजदेखि शुरु हुँदै

काठमाडौं,११ भाद्र । नेपाल अटोमोबाइल्स एसोसिएसन अफ नेपालको अटोमोबाइल प्रदर्शनी टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ आजदेखि शुरु हुँदैछ । प्रदर्शनी काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी स्थलमा भदौ १६ गतेसम्म हुनेछ ।

नाडा अटो शो ६ दिनसम्म चल्ने छ । यस शोमा २४ चार–पाङ्ग्रे ब्रान्डहरू, १९ दुई–पाङ्ग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिने भएका छन् । यसका साथै, ७ वित्तीय संस्थाहरूले वित्तीय समाधानहरू प्रदान गर्नेछ । यस शोमा ९५ प्रदर्शकहरूले १३० स्टलहरूमा आफ्ना उत्पादनहरू र सेवाहरू प्रदर्शन गर्नेछन् ।

प्रदर्शनीलाई चार–पाङ्ग्रे, दुई–पाङ्ग्रे, हल्का व्यावसायिक सवारी साधन, अटो कम्पोनेन्ट र वित्तीय संस्थाहरूमा विभाजन गरिएको छ । टिकटहरू अब खल्ती एपमार्फत अग्रिम रूपमा खरिद गर्न सकिन्छ । अग्रिम टिकट खरिदकर्ताहरूले अगस्ट २६ सम्मको टिकट खरिदमा २० प्रतिशत क्यासब्याक पाउन सक्नेछन्।

टाटा ईभी प्रस्तुत नाडा अटो शो २०२४ ले ६ दिनको अवधिमा करिब ७५ हजार आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरेको छ । एक भाग्यशाली सहभागीले सिजी मोटर्स प्रा.लि. द्वारा प्रायोजित हिरो जुम स्कूटर जित्ने अवसर पाउनेछन्।

नाडा दुई दशकभन्दा बढीको अटो शो निरन्तरतालाई कायम राख्दै, यस वर्ष, नाडा अटो शो पहिलेभन्दा भव्य र प्रभावशाली हुने अपेक्षा गरिएको आयोजकको भनाइ छ । यसमा टाटा ईभी मुख्य प्रायोजक, सर्भो लुर्बिकेन्टस् र शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड सह–प्रायोजकको रूपमा रहेका छन् । यो शोले अटोमोबाइल क्षेत्रको नवीनतम प्रवृत्ति र प्रविधिहरूको व्यापक प्रदर्शन गर्ने र यसले अर्थतन्त्रलाई महत्त्वपूर्ण रूपमा वृद्धि गर्न मञ्च तयार पार्ने आयोजकको विश्वास छ ।

नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीको नाडा अटो शो २०२४ ले उद्योगलाई पुनर्जीवित गर्न महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा आयोजकले गरेको छ । यस प्रदर्शनीले आर्थिक गतिविधिलाई बढावा दिने र राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण भूमिका खेल्ने अटोमोबाइल व्यवसायीको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्