ओमानका विदेशमन्त्री आज साँझ नेपाल भ्रमणमा आउँदै
काठमाडौं,१० भदौ । ओमानका विदेशमन्त्री सइद बदर बिन हमाद बिन हमुद बल्सुसैदी नेपाल आउँदैछन् । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको मैत्रीपूर्ण निमन्त्रणामा उनी सोमबार बेलुकी काठमाडौं आइपुग्दै छन् । ओमनका विदेशमन्त्री सइद बदर बिन हमाद आठ सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै नेपाल आउन लागेका हुन् ।
नेपाल भ्रमण क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली र परराष्ट्रमन्त्री राणासँग भेटघाट गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । मंगलबार बिहान ओमान र नेपालबीच द्विपक्षीय बैठक बस्नेछ । सो बैठकमा नेपाल र ओमानबीचको सम्बन्ध, श्रमलगायत द्विपक्षीय हितका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
विदेशमन्त्री सइद बदर बिन हमाद दुई दिने औपचारिक भ्रमण सकेर उनी भोलि साँझ स्वदेश फर्किने कार्यक्रम छ ।
प्रतिक्रिया दिनुहोस्