राष्ट्रिय अनुसन्धान विभागको भूमिका प्रभावकारी नभएकोमा प्रधानमन्त्री ओलीले उठाए गम्भीर प्रश्न

काठमाडौं, १० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अनुसन्धानको भूमिका र प्रभावकारितामाथि प्रश्न उठाएका छन्।

आइतबार आफू मातहतका निकायलाई बोलाएर प्रधानमन्त्री ओलीले कुराकानी गरे‍का हुन्।

छलफलमा राष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा लगायत प्रधानमन्त्री मातहत निकायका प्रमुख र पदाधिकारीहरू सहभागी थिए।

त्यहाँ उनले विमानस्थलबाट एकपछि अर्को गरी क्विन्टलका क्विन्टल सुन भित्रिँदा समेत गुप्तचरीको महत्त्वपूर्ण दायित्व पाएको निकायले पत्तै नपाउने अवस्था बनेको भन्दै प्रश्न गरेका हुन्।

‘राष्ट्रिय अनुसन्धान विभाग भनेको के हो? यो विभागले ठोस काम के गर्‍यो? इन्टेलिजेन्स (गुप्तचरी), काउन्टर इन्टेलिजेन्स ? प्रतिगुप्तचरी, के काम गर्‍यो? कुन अपराध हुनुभन्दा पहिले थाहा पायो?,’ प्रधानमन्त्री ओलीका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

प्रधानमन्त्रीले अपराध भइसकेपछि पनि राष्ट्रिय अनुसन्धान विभागको अनुसन्धान, तहकिकातमा कत्तिको महत्त्वपूर्ण खेल्नसक्यो भनेर पनि हेरिनुपर्ने बताए।

‘अपराध हुनुभन्दा पहिले थाहा पाउनुपर्‍यो नि? ३२ क्विन्टल पहिले आइसक्यो?,’ राष्ट्रिय अनुसन्धान विभागको नेतृत्वलाई लक्षित गर्दै प्रधानमन्त्रीले भने, ‘तपाईंहरूको मानिस छ त त्यहाँ, विमानस्थलमा छ, भन्सारमा छैन? अनि किन बस्या त?’

जबाफमा विभागका अधिकारीहरूले ‘हामी त अध्यागमनबाट आवतजावत गर्ने मानिसहरूलाई मात्रै हेर्छौं’ भनेका थिए।

प्रधानमन्त्रीले ‘अध्यागमन हेर्न त अध्यागमन विभाग नै त्यहाँ मौजुद छ त’ भन्दै प्रतिप्रश्न गरेका थिए। जवाफमा राअविका अधिकारीहरूले सीमित टिओआर (क्षेत्राधिकार) भएको बताएका थिए।

‘हाम्रो क्षेत्रात्रिकार नै तोकिएको छ, हाम्रो पहुँच भन्सारमा छैन,’ राअविका अधिकारीको भनाइ उद्धृत गर्दै त्यहाँ सहभागीले बताए।

अध्यागमनको काम सम्बन्धित विभागले गर्ने बताउँदै प्रधानमन्त्रीले राअविको भूमिका अवैध चोरी, पैठारी नियन्त्रणमा देखिनुपर्ने बताएका थिए।

‘अध्यामगनले त पासपोर्ट देखाउने बित्तिकै पासपोर्ट रिड गरिहाल्छ। के छ कसो छ? उसको हिस्ट्री हेरिहाल्छ। भ्रष्टाचार, अवैध चोरी, पैठारी नियन्त्रण मुख्य कुरा हो,’ प्रधानमन्त्रीको भनाइ थियो।

उनले राअविलाई विमानस्थल, भन्सारमा हुने अपराध, भ्रष्टाचार नियन्त्रणमा थप टिओआर चाहिए सरकारले त्यसमा विचार पुर्‍याउने बताएका थिए।

‘भन्सारले के गरिरहेको छ, त्यो तपाईंहरूले हेर्नुपर्‍यो। टिओआर पुगेको छैन भने थपौंला। तर हेर्नुपर्छ। यत्रो अनुसन्धान विभाग, प्रहरी, अध्यागन त्यहाँ गएर बसेको छ। ३२ क्विन्टल पार भयो। एक क्विन्टल मात्रै पक्राउ पर्‍यो। त्यहाँ पक्राउ परेन त फेरि। बाहिर पक्राउ पर्‍यो। रिचेक भनेर कर्मचारीले लेखेको ठाउँमा पनि फेरि रिचेक नगरी कसरी बाहिर जान्छ? वर्तिर आएर पनि हेर्न सक्नुहुन्छ। रिचेक भयो कि भएन भनेर। त्यत्रो निकायहरू छ नि त्यहाँ, हामीले त्यत्रो निकाय राखेका छौं। मोटरआउँछ सुनैसुनको!,’ प्रधानमन्त्रीको भनाइ थियो।

२०८० साउन ३ गते ६० किलो सुन बरामद भएको थियो। त्यस्तै भदौ २६ गते पनि एक किलो अवैध सुन बरामद भएको थियो।

प्रतिक्रिया दिनुहोस्