विश्व बजारमा महँगियो कच्चा तेलको भाउ, ब्रेन्ट क्रुडको मूल्य १०० डलरमा पुग्ने अनुमान

काठमाडौं,१० भदौ । विश्व बजारमा कच्चा तेलको भाउ फेरि बढेको छ । अमेरिका लगायतका देशमा कच्चा तेलको मौज्दातमा कमि आएसंगै मूल्यमा चाप परेकोले कच्चा तेलको भाउ बढेको हो ।

पछिल्लो पाँच दिनको अवधिमा कच्चा तेलको भाउ औसतमा साढे ४ प्रतिशतले बढेको पनि समाचारमा उल्लेख छ ।

अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार अगस्ट १६ सम्ममा त्यहाँको मौज्दात ८ सातामै ३ करोड ४६ लाख ब्यारेल घटेको छ । तेल उत्पादनभन्दा पनि मौज्दात घटाउनतिर विभिन्न मुलुक सक्रिय रहेकाले मूल्यमा चाप परेको हो ।

गत बुधबार प्रतिब्यारेल ७१.९ अमेरिकी डलर हाराहारीमा कारोबार भएको डब्लूटीआई कच्चा तेलको भाउ बढेर हाल ७५.३ पुगेको छ । त्यस्तै ब्रेन्ट कच्चा तेलको भाउ यो अवधिमा ७५.५ डलरबाट बढेर ७९.५ पुगेको छ ।

विश्व बजारमा कच्चा तेलको भाउ झनै महँगो हुने आशंका छ । मध्यपूर्व लगायतका देशहरू बीच नयाँ खाले तनाव बढ्ने र आपूर्तिमा कमी आउँदा कच्चा तेलको भाउ अझै बढ्ने प्रक्षेपण गरेको छ ।

तेल बजारमा उथल–पुथल भइरहेको भए पनि पेट्रोलियम निर्यातकर्ता देशहरूको संगठनमा आबद्ध देशहरू उत्पादन कटौतीमा अडिग छन् । यसले पनि दुई वर्षमा पहिलो पटक कच्चा तेलको अन्तरराष्ट्रिय बेञ्चमार्क ब्रेन्ट क्रुडको भाउ १०० डलरमा पुग्ने खतरा बढाएको छ ।

विश्व बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा आयात हुने डिजेल, पेट्रोलको भाउ पनि बढ्दछ ।

एजेन्सीहरुको सहयोगमा

प्रतिक्रिया दिनुहोस्