अब प्रधानमन्त्रीसँग संसदमा प्रश्न गर्न पाइने !

काठमाडौं ।अब महिनाको दुई पटक प्रधानमन्त्रीसँग सांसदहरुले प्रश्नोत्तर गर्न पाउने भएका छन् ।

प्रतिनिधिसभामा पेश भएको प्रतिनिधिसभा नियमावली मस्यौदामा प्रधानमन्त्रीले महिनाको दुई पटक र मन्त्रीहरुसँग हरेक संसद् बैठकमा कार्यसूचीमा प्रवेश गर्नुभन्दा एक घण्टा अघि प्रश्नोत्तर गर्न पाइने प्रस्ताव गरिएको छ ।

सरकार संसद् तथा संसदीय समितिहरुप्रति उत्तरदायि नबनेको आरोप लाग्दै आएको छ ।

यस पटक सरकारलाई संसद्प्रति उत्तरदायि बनाउन प्रधानमन्त्री र मन्त्रीहरुसँग सांसदहरुले प्रश्नोत्तर गर्न पाउने व्यवस्था गर्न लागिएको हो ।

२०१५ सालको संसद्मा यो व्यवस्था भए पनि त्यसपछिका समयमा प्रश्नोत्तरको व्यवस्था थिएन ।

जसले गर्दा सांसदहरुले संसद्मा विषयहरु उठाउने तर त्यसलाई सरकारले कार्यान्वयन नगरे पनि हुने संस्कार बस्दै आएको थियो ।

नियमावली मस्यौदामा हरेक महिनाको पहिलो र तेस्रो हप्ताको बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुले मौखिक तथा लिखित पश्नोत्तर गर्ने व्यवस्था गरिएको छ ।

यसरी प्रधानमन्त्री वा मन्त्रीलाई सोधिने प्रश्नबारे पहिला नै संसद् सचिवालयलाई जानकारी गराउनुपर्नेछ र एक दिनमा मौखिक २० र लिखितमा ५० वटा भन्दा बढी प्रश्न सोध्न पाइने छैन ।

नियमावलीमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गर्न चाहनेले संसद् शुरु हुनु दुई घण्टा अगावै दर्ता गर्नुपर्ने र छलफलका लागि सभामुखले दुई घण्टाको समय निर्धारण गर्न सक्ने व्यवस्था छ ।

मस्यौदामा विधेयक माथि जनताको सुझाव लिने व्यवस्था पनि मिलाइएको छ । कुनै माध्यमको प्रयोग गरी विधेयकमा निश्चित समय लिएर जनताको सुझाव लिन सक्ने व्यवस्था छ ।

 

प्रतिक्रिया दिनुहोस्