व्यवसायी र यातायात मन्त्रालयबीच सहमति, रोक्का राखिएको बैंक फुकुवा हुने
काठमाडौं । यातायात व्यवस्थापन कार्यविधि निर्देशिकाको विरोधमा आन्दोलनमा उत्रिएका यातायात व्यवसायीहरु र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच सहमति भएको छ। आइतबार बेलुका भएको वार्तामा सहमति भएको हो।
सहमति भएसँगै व्यवसायीहरुले आन्दोलन फिर्ता लिएका छन्। स्रोतका अनुसार सरकारले उनीहरुका केही माग सम्बोधन गर्ने आश्वासन दिएको छ। समिति अन्तर्गत रहेका व्यवसायीहरु कम्पनीमा जान तयार भएका छन्।
यातायात समितिहरुको रोक्का राखिएको बैंक फुकुवा हुने भएको छ। दिउँसो १ बजे मन्त्रालयमा संयुक्त पत्रकार सम्मेलन गरी सहमतिबारे जानकारी गराउन लागिएको छ।
गत शुक्रबार यातायात व्यवसायीहरुले देशभर गाडी ग्यारेजमा थन्क्याएर हडताल गरेका थिए। त्यसपछि गृह मन्त्रालयले व्यवसायीलाई पक्राउ गर्न निर्देशन दिएको थियो।
महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, महासचिव सरोज सिटौला लगायत पदाधिकारी काठमाडौंमा पक्राउ परेपछि आन्दोलनरत व्यवसायीहरु शिथिल बनेका थिए। यातायात समितिहरु खारेज गर्ने तथा देशभरि रुट परमिट खुला गर्ने निर्णयविरुद्ध उनीहरुले आन्दोलन गरेका थिए।
सरकारले यातायात समिति खारेज गरी अनिवार्य रुपमा कम्पनीमार्फत यातायात चलाउनुपर्ने निर्णय गरेपछि समितिअन्तर्गत रहेर याताया सिन्डिकेट चलाइरहेका व्यवसायीहरु आन्दोलनमा उत्रिएका हुन्।
प्रतिक्रिया दिनुहोस्