कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु

काठमाडौं, ७ भदौ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ । गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको बैठक आज पुनः बसेको हो ।

अधिकांश केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाले आज पूर्व र वर्तमान पदाधिकारीहरूले धारणा राख्ने नेपाली कांग्रेसले जनाएको छ । महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेन्डाका अतिरिक्त परिमार्जनसहित पेस भएका महासमिति बैठकका प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुँदै आएको छ ।

उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको साङ्गठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदनमाथि छलफल केन्द्रित हुने नेताहरू बताउँछन् ।

एक पदाधिकारीले भने, ‘महामन्त्रीद्वयको प्रतिवेदनमा छलफल नभइ बैठक सुरू भएको छ । आज सबै पदाधिकारी बोल्ने छन् तर आजै निर्णय आउने सम्भावना कम छ ।’ विवाद मिलाउने भन्दै साउन २८ गतेबाट बैठक स्थगन गरेर सहमति जुटाउने भनिएको थियो । तर, पदाधिकारी तहमा छलफल नभइ बैठक सुरू भएको हो ।

प्रतिक्रिया दिनुहोस्