काठमाडौँ उपत्यका र चितवन हेर्ने छुट्टै संयन्त्रको निर्माण गर्दै रास्वपा

काठमाडौं, ७ भदौ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपत्यकाका तीन जिल्ला र चितवनमा राजनीतिक गतिविधि हेर्ने छुट्टै संयन्त्र बनाउने तयारी गरेको छ । पार्टीमा अहिले विधान संशोधनका लागि छलफल भइरहेको छ । समिति नै बनाएर संशोधनबारे छलफल भइरहँदा उपत्यका र चितवन हेर्नलाई शीर्ष नेतृत्वको मातहतमा रहने संयन्त्र बनाउनुपर्ने कुरा उठेको छ ।

भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकमा पनि यो विषयले प्रवेश पाएको थियो । पार्टी संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामान्य छलफल भएको जानकारी दिए ।

‘केन्द्रीय समितिमा अनेक विषय उठ्छन् । उपत्यका र चितवन हेर्ने गरी संयन्त्र विधानमा व्यवस्था गरौँ भनेर कुरा आएका छन्‚’ उनले भने‚‘छलफल पश्चात् उपयुक्त निर्णय लिन्छौँ ।’

रास्वपालाई संसद्को चौथो ठुलो दल काठमाडौँ उपत्यका र चितवन जिल्लाले बनाएको हो । २०७९ को सङ्घीय निर्वाचनमा उपत्यकाबाट ४ र चितवनबाट २ सिट रास्वपाले प्रत्यक्षतर्फ जितेको हो । यस्तै यी जिल्लाबाट समानुपातिकतर्फ अत्यधिक मत पनि पार्टीले पाएको र २१ सिट सहितको दल जनताले बनाएको भन्दै यी दुई क्षेत्रमा पार्टी विशेष रूपमा जोडिनुपर्ने पक्षमा नेताहरू छन् । चितवन २ को उपनिर्वाचनबाट इतिहास कायम गर्दै पार्टी सभापति रवि लामिछाने सबैभन्दा धेरै मतले विजयी भएपछि पार्टीभित्र काठमाडौँ, ललितपुर, भक्तपुर र चितवनलाई फरक ढङ्गबाट हेरिनुपर्ने विषय उठेको हो ।

‘हामीलाई अहिलेको हैसियतमा काठमाडौँ उपत्यका र चितवनले पुर्‍याएको हो । प्रत्यक्ष र समानुपातिकमा यिनै ठाउँबाट बढी मत आएको छ‚’ उनले भने‚ ‘यी स्थानलाई राजनीतिक रूपमा सम्बोधन गर्नुपर्ने र यसका लागि विशेष समिति विधानमै व्यवस्था गर्ने कि भन्ने विषय पनि उठान भयो । यो छलफल मात्र हो ।’

प्रतिक्रिया दिनुहोस्