सहकारी ठगी छानबिन समितिले रवि लामिछानेलाई सोधपुछका लागि आज बोलायो

काठमाडौं, ७ भदौ । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई सोधपुछका लागि समितिमा बोलाएको छ ।

गोरखा मिडिया नेटवर्क प्रा.लि.को पूर्वप्रबन्ध निर्देशक समेत रहेका लामिछानेलाई आज दिउँसो २ बजे सोधपुछका लागि बोलाएको समिति सभापति सूर्य थापाले जानकारी दिए । त्यसैगरि, आज बिहान ११ बजे गोरखा मिडिया नेटवर्कका सञ्चालक छविलाल जोशीलाई पनि सोधपुछका लागि बोलाइएको सभापति थापाले बताए ।

सहकारी संस्थाको रकम अपचलनको विषयमा छानबिन गर्न संसदले गत जेठ १५ गते एमाले सांसद थापाको नेतृत्वमा संसदीय छानबिन समिति गठन गरेको थियो ।

सो ७ सदस्यीय समितिमा नेपाली कांग्रेसबाट ईश्वरी देवी न्यौपाने र बद्रीप्रसाद पाण्डे, नेकपा एमालेबाट सूर्य थापा र सरिता भुसाल, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राप्रपाबाट धु्रव बहादुर प्रधान रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्