अस्पतालका उपकरण मर्मतको जिम्मा आविष्कार केन्द्रलाई, राज्यले दिएको जिम्मेवारी पूरा गर्छु: महावीर पुन

काठमाडौं, ५ भदौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय अस्पतालका बिग्रिएका स्वास्थ्य उपकरण मर्मतको जिम्मा वैज्ञानिक महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई दिने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलको उपस्थितीमा बुधबार मन्त्रालय र केन्द्रबीच हस्ताक्षर भएको छ ।

मन्त्रालयका तर्फबाट गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा. मदन उपाध्याय र केन्द्रका अध्यक्ष महावीर पुनले सम्झौतामा हस्ताक्षर गरेका छन् । अस्पतालमा खेर गैरहेका उपकरण मर्मत गर्नका लागि सघाउन मन्त्री पौडेलले केही दिन अघि पुनसँग आग्रह गरेका थिए । त्यसलगत्तै मन्त्रालयले उनी नेतृत्वको केन्द्रसँग औपचारिक सम्झौता गरेको हो ।
अब केन्द्रले हाल मन्त्रालयअन्र्तगतका १७ अस्पतालमा बिग्रिएर रहेका स्वास्थ्य उपकरणको अवस्थाबारे जानकारी लिनेछ । त्यसपश्चात मर्मत सम्भव भएका सबै उपकरणको केन्द्रका प्राविधिकहरुले मर्मत गर्नेछन् ।

हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले अस्पतालमा मर्मत अभावमा उपयोगमा आउन नसकेका उपकरणलाई केन्द्रको सहयोगमा मर्मतपछि उपचार सेवामा सहजता आउने विश्वास व्यक्त गरे । देशको सीप प्रयोग गरेर स्वदेशमै केही गर्न खोजिरहेका वैज्ञानिकहरुको योगदानलाई यो राज्यका तर्फबाट कदर हो, मन्त्री पौडेलले भने, स्वदेशी सीपमा कम खर्चमा उपकरणको मर्मत हुने आशा लिएको छु ।

उनले केन्द्रको सहयोगमा राज्यको खेर गैरहेको सम्प्त्तिको उपयोगबाट बिरामी पनि लाभान्वित हुने र उपकरण खरिदका लागि हुने खर्चसमेत कम हुने आशा गरे ।

केन्द्र प्रमुख पुनले राज्यले आफूहरुलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको भन्दै खुशी प्रकट गरे । राज्यले हामीलाई विश्वास गरेर ठूलो जिम्मेवारी दिएको छ, उनले भने, अब हामी हाम्रै श्रोत साधन र प्राविधिकको उपयोग गरेर मर्मत गर्नेछौं ।
उनले यसले आफूहरुलाई हौसला दिएको भन्दै मन्त्री पौडेललाई धन्यवाद दिए । मन्त्रीज्यूलाई कार्यसफलताको कामना छ, उनले भने, हामी पनि यहाँलाई सघाउँछौं ।

मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीले शुरुवातमा १७ वटा संघीय अस्पतालको उपकरणको अवस्थाबारे विवरण केन्द्रबाट प्राप्त भए पछि सम्बन्धित अस्पतालमै गएर केन्द्रले मर्मत थाल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्