गाईजात्रा पर्व आजदेखि शुरु, कृष्ण जन्माष्टमीसम्म मनाइने
काठमाडौं, साउन । प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा पर्व दिवंगत आफन्तजनको सम्झना तथा उनीहरूको आत्माको शान्तिका लागि मनाइने गाईजात्रा आजबाट सुरु भएको छ । भाद्र कृष्ण प्रतिपदादेखि कृष्ण जन्माष्टमीसम्म मनाइने गाईजात्रा पर्व आजदेखि सुरु भएको हो ।
एक वर्षभित्र दिवंगत भएका आफन्तजनको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान दिने चलन रहेको छ ।
किम्बदती अनुसार यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास रहेको छ ।
राजा प्रताप मल्लले पुत्रशोकले विह्वल भएकी आफ्नी रानीलाई हामीले मात्रै हैन देशमा अरुले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ–आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी निर्देशन दिएपछि यो पर्व सुरु भएको ऐतिहासिक तथ्य रहेको इतिहासकार बताउछन् ।
यसबाट पनि रानीको मन शान्त हुन नसकेकाले विभिन्न प्रकारका प्रहसन तथा व्यङ्ग्यात्मक कार्यक्रम समेत गराउने आदेश दिएअनुरूप हास्यव्यङ्ग्यको प्रचलन चलेकोे जनश्रुति पाइन्छ ।
प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजदरबार भएर जानुपर्ने प्रथा अहिलेसम्म पनि कायमै छ । देशका विभिन्न स्थानमा गाईजात्रा मनाइने भएपनि उपत्यकामा यसको विशेष रुपमा मनाउने गरेको पाइन्छ ।
प्रतिक्रिया दिनुहोस्