नेपाल प्रवेश गर्न खोज्ने दुई जना बंगलादेशी नागरिकलाई प्रहरीले फिर्ता पठायो

काठमाडौं,२९ साउन । भारतकोबाटो भएर विराटनगरको रानी नाका हुँदै नेपाल प्रवेश गर्न खोज्ने दुई जना बंगलादेशी नागरिकलाई मंगलबार दिउँसो फिर्ता पठाइएको छ ।

मोरङ प्रहरीका अनुसार एक पुरुष र एक जना वृद्धा महिलालाई फिर्ता पठाइएको हो । भारतको जोगवनीबाट नेपाल प्रवेश गर्न खोज्ने बंगलादेशको घाना गोदागाडीका ४९ वर्षीय करिम मोहम्मद रिजाउल र ६३ वर्षीया जायदा बेगमलाई दिउँसो करिब १.०० बजेतिर फिर्ता पठाइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए ।

उनका अनुसार भारतीय नागरिकको समूहमा मिसिएर अनधिकृतरूपमा नेपाल प्रवेश गर्न खोज्दै गर्दा प्रहरीले रिजाउल र बेगमलाई फेला पारेको थियो । दुवै जनालाई विराटनगर महानगरपालिका-१५ स्थित १ नम्बर ढाटबाट भारततर्फ नै फिर्ता पठाइएको प्रवक्त्ता ज्ञानेन्द्र बहादुरले बताए ।

प्रहरीले जाँच गर्ने क्रममा दुवै जनाको साथबाट बंगलादेशको नागरिक रहेको प्रमाणित हुने राहदानी फेला प‍रेको थियो । त्यसपछि उनीहरूलाई भारततिर नै फिर्ता पठाइएको हो । विराटनगरको रानी नाका हुँदै बंगलादेशी नागरिक नेपाल प्रवेश गर्न खोजेको यो दोस्रो घटना हो । यसअघि नेपाल प्रवेश गर्न खोज्ने बंगलादेश टाङगाई पुराबरीका ४६ वर्षीय उत्तम सरकारलाई साउन २२ गते प्रहरीले फिर्ता पठाएको थियो ।

बंगलादेशी नागरिक नेपाल प्रवेश गर्ने सम्भावनालाई मध्यरनजर गर्दै नेपाल(भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । नेपाल र सशस्त्र प्रहरीसमेतका सुरक्षा निकायबीच समन्वय गरेर चेकजाँच तीव्र पारी कडाइ गरिदै आएको छ । जोगवनी हुँदै नेपाल प्रवेश गर्ने प्रत्येक व्यक्तिलाई कडाइका साथ चेकजाँच गर्ने गरिएको छ ।

बंगलादेशमा पछिल्लो राजनीतिक घटनाक्रमसँगै नेपाल(भारत सीमा क्षेत्रमा उच्च सतर्कता अपनाइएको उनको भनाइ छ । कडाइ गर्नका लागि नाकामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्