नेपाल टेलिकमको ग्राहक आधार १ करोड ९१ लख १३ हजार ७८७ पुग्यो

काठमाडौ । नेपाल टेलिकमद्धारा प्रकाशित (२०७४ फागुन महिनाको): MIS Report अनुसार नेपाल टेलिकमको ग्राहक आधार १ करोड ९१ लाख १३ हजार ७ सय ८७ पुगेको छ । कम्पनीको डाटा सेवाका प्रयोगकर्ता पनि ९९ लाख ५४ हजार ७ सय २२ पुगेका छन् ।
डाटा सेवाका लागि कम्पनीले हाल ५ एमबीपीएससम्म गतिको अनलिमिटेड एडीएसएल इन्टरनेट सेवा मासिक न्यूनतम ५ सय ८३ रुपैयाँ सम्मको मूल्यमा उपलब्ध गराइरहेको छ । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा कम्पनीको डाटा सेवाका ग्राहक आधार १८.१४ प्रतिशतले वृद्धि भएको देखिएको छ ।

कम्पनीको एक करोड जीएसएम आयोजना अन्तर्गत दुई प्याकेज मध्ये काठमाडौं उपत्यका तथा पश्चिमाञ्चल क्षेत्रको ४८ लाख क्षमताको नेटवर्क विस्तार कार्य सतप्रतिशत सम्पन्न भइसकेको र अर्को प्याकेज अन्तर्गत मध्यमाञ्चल क्षेत्र (काठमाडौं उपत्यका वाहेक), पूर्वाञ्चल क्षेत्र, मध्य पश्चिमाञ्चल क्षेत्र तथा सुदूर पश्चिमाञ्चल क्षेत्रको ५२ लाख क्षमताको नेटवर्क विस्तार कार्य ७२ प्रतिशत सम्पन्न भई बाँकी विस्तार कार्य तदारुकताका साथ जारी रहेको छ ।

उपभोक्ताको रुचि डाटामार्फत प्राप्त हुने सेवातर्फ आकर्षित हुदै गएकोले विश्वव्यापी रुपमा नै अन्तर्राष्ट्रिय भ्वाइस सेवाबाट हुने आम्दानी घट्दै गएको देखिन्छ । PWC (www.strategyand.pwc.com) नामक कम्पनीले गरेको अध्ययन प्रतिवेदन (2017 Telecommunications Trends) अनुसार सन् २०१७ मा अन्तर्राष्ट्रिय कलको आम्दानी विश्वव्यापी रुपमा करिब २० प्रतिशतले घटेको छ । नेपालको सन्दर्भमा नेपाल टेलिकम र अन्य सेवा प्रदायकको पनि २० प्रतिशतकै हाराहारीमा सो आम्दानी घटेको सेवा प्रदायकहरुको वार्षिक प्रतिवेदनबाट देखिन्छ । नेपाल टेलिकमले आम्दानी बृद्धिका लागि अन्य विभिन्न भ्यालु एडेड सेवाहरु (सीआरबीटी पुनः सञ्चालन, WowTime, म्युजिक नेपाल एप्स, नमस्ते क्रेडिट आदि) सञ्चालनमा ल्याइसकेको तथा थप सेवाहरु सञ्चालनमा ल्याई राजस्व वृद्धिको प्रयास गरिरहेको छ ।
नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले प्रकाशित गरेको पछिल्लो (माघ महिनाको):MIS रिपोर्ट अनुसार नेपाल टेलिकमको भ्वाइस तर्फको बजार हिस्सा पहिले भन्दा बढ्दै गएको देखिन्छ । प्राधिकरणले प्रकाशित गरेको २०७४ माघको रिपोर्ट अनुसार कम्पनीको भ्वाइस तर्फको बजार हिस्सा क्रमिक रुपमा वृद्धि हुँदै हाल ५० प्रतिशत पुगेको छ । यो भन्दा पहिले २०७२ असोजमा ४६, कात्तिकमा ४७ र माघमा ४८ तथा २०७३ पुसमा ४९ प्रतिशत मात्र बजार हिस्सा रहेको थियो । प्राधिकरणले प्रकाशित गरेको रिपोर्टमा कम्पनीको हिस्सा ब्रोडब्यान्ड डाटामा कम देखिए तापनि कम्पनीका जीएसएम टुजी (GPRS/EDGE) ग्राहक ५२ लाख ४ हजार ९ सय ३६ लाई समेत आधार मान्दा डाटा तर्फ कम्पनीको बजार हिस्सा अग्रस्थानमै रहेको छ ।
कम्पनीले टीडीएम प्रविधिमा आधारित आधारभूत टेलिफोन सेवालाई अत्याधुनिक आईपी प्रविधिको प्रणालीबाट विस्थापित गर्ने आयोजना आर्थिक वर्ष २०७३÷७४ मा कार्यान्वयन आरम्भ भएकोमा यस अवधिमा पुराना प्रविधिका एक्सचेन्जहरुलाई MIS प्रविधिको उपकरणले प्रतिस्थापन गरी सबै ग्राहकलाई डाटा सेवा उपलब्ध गर्ने क्षमता सहित १ लाख २७ हजार ७ सय ४० लाइन सञ्चालनमा ल्याइसकिएको छ । प्रतिस्थापन कार्य हाल पनि चलिरहेको छ ।
यसै आर्थिक वर्षको वार्षिक कार्यक्रम अनुसार सबै सेवाहरुको बिलिङ प्रणालीलाई एकीकृत रुपमा CRTB मा स्तरोन्नति (Migration) गरिएको छ ।
भूकम्पबाट अति प्रभावित चार जिल्लाहरु काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका ४ सय ४ स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको छ । कम्पनीले ती स्थानहरुमा वाइम्याक्स, इभीडीओ तथा थ्रिजी मार्फत इन्टरनेट सेवा सञ्चालनमा ल्याएको हो । नेपाल दूरसञ्चार प्राधिकरणसँग भएको सम्झौता बमोजिम यी चार जिल्लाका थप विभिन्न स्थानमा इन्टरनेट सेवा सञ्चालनमा ल्याउनका लागि प्राथमिकताका साथ आवश्यक कार्य भइरहेको छ ।
यस आर्थिक वर्षको हाल सम्मको डाटा सेवाको राजस्वको प्रवृत्ति हेर्दा आर्थिक वर्षको अन्त्यसम्ममा अघिल्लो आर्थिक वर्षको भन्दा वृद्धि हुने देखिएको छ । कम्पनीको सबैभन्दा ठूलो ग्राहक आधार रहेको जीएसएम मोबाइल सेवाको राजस्व पनि वृद्धि हुने देखिएको छ ।
प्रवक्ता प्रतिभा बैद्यले कम्पनीका सेवा सुविधाका लागि उपभोक्तालाई अझै सहज जानकारी दिन विभिन्न राष्ट्रिय दैनिक पत्रिका, अनलाइन सञ्चार माध्यमहरु, एफएम रेडियो र टीभीका साथै कम्पनीको वेबसाइट लगायतका सामाजिक सञ्जालमार्फत समेत जानकारी प्रदान गर्ने कार्यलाई निरन्तरता दिइएको जानकारी दिनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्