थारू भाषाका कवितामा महिला हस्ताक्षरको परिचर्चा गर्दै ठुम्रार साहित्यिक बखेरीको शताङ्क शृङ्खलाबारे विमर्श 

काठमाडौँ । ‘हमार संस्कृक्ति हमार स्वाभिमान, सक्कुजे मिल्के बचाई आपन बचाई आपन पहिचानु भन्ने मूल नाराका साथ २०६९ साल माघदेखि सुरु भएको थारू साहित्य रचना वाचनको शृङ्खला ठुम्रार साहित्यिक बखेरीको १००औँ भाग शताङ्कसम्म आइपुगेको छ । यस अवसरमा नेपाल प्रज्ञा-प्रतिष्ठान र थारू लेखक सङ्घ नेपालको सहकार्यमा ठुम्रार साहित्यिक बखेरीको १०० औँ शृङ्खलाको विमर्श गरिएको थियोे ।

कार्यक्रममा थारूभाषा र साहित्यका युवाअध्येता भूमिका थारूले थारूभाषाका कवितामा महिला हस्ताक्षर विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियोे।प्रज्ञा-प्रतिष्ठान देवकोटा सभाकक्षमा आयोजित यस विमर्श कार्यक्रममा बर्दियाली थारू विकास मञ्च, चम्पन सांस्कृतिक समूह, बरघर रेस्टुरेन्ट, राष्ट्रिय थारू कलाकार मञ्च, निसराउ ग्रुप प्रालि, जेनस इन्टरनेसनल प्रालि, अग्रासन थारू महिला समूह, यूनिक थारू ग्रुप र न्यु जर्सी थारू कम्युनिटीलगायतका समाजिक सङ्घ संस्थाहरू समेत सहआयोजकका रूपमा रहेका थिए ।

प्रमुख अतिथि नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले ब्यानर बाचन गरेर कार्यक्रमको समुद्घाटन गर्नुभएको थियोे ।उहाँले कार्यक्रमलाई सम्बोधन गर्दै आफ्नो टिमले प्रज्ञा-प्रतिष्ठान सम्हालेपछि आदिवासी, जनजाति, भाषाभाषीका भाषालाई प्राथमिकता दिएको बताउँदै भन्नुभयो, ‘राष्ट्रिय कविता महोत्सवमा भाषिक रूपले कविहरूको उपस्थिति गराउँदा सङ्ख्या बढ्नुका साथै नेपाली बाहेकका विभिन्न भाषाभाषी नै टप टेनमा परेका छन् ।’ मातृभाषामै कविता लेख्ने कविहरू नै उम्दा भएको उहाँको भनाइ थियो । सङ्घीयताको कार्यान्वयनको क्रममा थारू समुदायबाट विद्रोह हुँदा तिनले ठुलो मूल्य चुकाउनु परेको स्मरण गर्दै उहाँले भन्नुभयो, मैले पनि टीकापुरबारे लेख र कविता लेखेर थारू समुदायप्रति सद्भाव जताएको छु।’ भन्नु भएको थियोे ।

कार्यक्रममा विभिन्न क्षेत्रमा विशेष योगदान पुर्याउने बुद्धसेन चौधरी, मानबहादुर चौधरी पन्ना, सिताराम चौधरी, बलराम चौधरी र नन्दुराज चौधरीलाई प्रमुख अतिथि राईले कदरपत्र प्रदान गर्नुभएको थियोे।उहाँले संस्थागत योगदान पुर्याउने बर्दियाली थारू विकास मञ्च काठमाडौँ र न्यु जर्सी थारू कम्युनिटी संयुक्त राज्य अमेरिकालाई समेत कदरपत्र प्रदान गर्नु भएको थियोे ।सम्मानित व्यक्तित्व सिताराम चौधरी र बुद्धसेन चौधरीले आआफ्नो मन्तव्य राख्नु भएको थियो।

‘थारू कवितामा महिला हस्ताक्षर’नामक कार्यपत्र प्रस्तुत गर्दै भूमिका थारूले थारू भाषामा महिला कविता लेखनको स्थिति र सम्भावनाबारे उल्लेख गर्नुभएको थियोे ।यस कार्यपत्रमाथि शान्ति चौधरीले टिप्पणी गर्दै थारू भाषासाहित्यको खोजअनुसन्धानमा थप जोड दिनुपर्ने बताउनुभएको थियोे ।सहभागीका तर्फबाट पुरुषोतम चौधरी ,नरेन्द्रकुमार चौधरी ,इन्दु थारू,प्रणव चौधरी ,सियाराम चौधरी र सन्तोषी चौधरीले जिज्ञासा तथा सुझाव राख्नुभएको थियोे ।सहभागीका टिप्पणी र जिज्ञासालाई शान्त पार्दै प्रस्तोता भूमिका थारूले प्राप्त भएका सुझावका आधारमा आफूले कार्यपत्रलाई पूर्णता दिन कोसिस गर्ने बताउनु भएको थियोे ।

कार्यक्रममा अरूण चौधरी ,गणेश वर्तमान ,प्रणव चौधरी, शिव चौधरी, मित्थु थारु, अर्णव चौधरी, सन्तोषी चौधरी, सीएन थारु, निरजबाबु चौधरी, दोषहरण चौधरी, श्रीसन चौधरी, अविनाश चौधरी, शान्ति चौधरी, शत्रुघन चौधरी, भीमेश चौधरी, रामस्वागत चौधरी, उदयनारायण चौधरी र दिलबहादुर कुश्मी लगायतले कविता वाचन गर्नुभएको थियोे । कार्यक्रमका सभाध्यक्ष ,नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा थारू लेखक सङ्घ नेपालका अध्यक्ष डा.कृष्णराज सर्वहारीले वाचित रचनाको दस्तावेजीकरण गरिनुपर्ने कुरामा जोड दिँदै धन्यवाद ज्ञापनसहित कार्यक्रमको समापन गर्नुभएको थियोे । प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाबाट उक्त कार्यक्रम बारे जानकारी प्राप्त भएको थियोे।

कार्यक्रमको ओैचित्यमाथि प्रकाश पार्दै थारू लेखक सङ्घका नन्दुराज चौधरीले ठुम्रार साहित्यिक बखेरी सुरु गरेको १२ वर्षपछि प्रज्ञाको सहकार्यमा प्रज्ञामै कार्यक्रम गर्न पाएकोमा खुसी व्यक्त गर्दै स्वागत मनतव्य राख्नु भएको थियोे । कार्यक्रमको सञ्चालन यस सङ्घका आजीवन सदस्य शत्रुघन चौधरीले गर्नुभएको थियोे ।

प्रतिक्रिया दिनुहोस्