अशोकराज सिग्देलले समाले नेपाली सेनाको कमान्ड

काठमाडौं, २५ साउन । बलाधिकृत रथी अशोकराज सिग्देलले शुक्रवारबाट नेपाली सेनाको कमान्ड सम्हालेका छन् । उनले मन्त्रिपरिषद्को निर्णय बमोजिम राष्ट्रपति रामचन्द्र पौडेलबाट साउन २५ गतेको मितिबाट कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी सम्हाल्ने अख्तियारी पाएका थिए ।

सिग्देललाई बिहीबार प्रधानसेनापति महारथी प्रभुराम शर्माले जङ्गी अड्डामा आयोजित एक समारोहकाबिच प्रधान सेनापतिको कार्यभार बरबुझारथ गरेका थिए । सो अवसरमा शर्माले नेपाली सेनाको सबै तह र तप्काहरूलाई राम्रोसँग बुझेको, नीति नियम र पद्धतिबारे गहन बुझाइ राख्ने, व्यावहारिक एवम् उत्कृष्ट व्यावसायिक क्षमता भएका बलाधिकृत रथी सिग्देललाई आफ्नो उत्तराधिकारीका रूपमा कार्यभार बुझाउन पाएकोमा खुसी व्यक्त गरेको सैनिक निर्देशनालयले जनाएको छ ।

उनले सिग्देललाई सफल कार्यकालका लागि शुभकामनासहित बधाई समेत दिए । गौरवमय इतिहास र परम्परा भएको नेपाली सेनाको सहायक सेनानी दर्जामा प्रवेश गरी करिब ४१ वर्षसम्म अनवरत रूपमा सेवा गरेका शर्मा भदौ २४ गतेबाट पदावधिको हदले नेपाली सेनाबाट अनिवार्य अवकाश प्राप्त गर्दै छन् ।

सेनाको प्रचलित परम्परा अनुसार शर्मा शुक्रवारबाट बिदामा बसेका छन् ।

प्रतिक्रिया दिनुहोस्