एल क्लासिको – के रियल म्याड्रिड बन्ला त बार्सिलोनालाई हराउने पहिलो टोली ?

बार्सिलोना (एजेन्सी) । एल क्लासिकोमा आज बार्सिलोना र रियल म्याड्रिड खेल्दैछ । खेल बार्सिलोनाको घरेलु मैदानमा हुँदैछ । यो सिजन ला लिगामा बार्सिलोनाले हार बेहोरेको छैन । स्पेनिस लिगमा यो सिजन बार्सिलोनालाई पराजित गर्ने पहिलो टोली बन्ने अवसर रियललाई छ ।

यस खेलको नतिजाले लिगमा सायदै कुनै फरक भने पार्दैन। बार्सिलोनाले ला लिगाको उपाधि कब्जा गरिसकेको छ भने रियल म्याड्रिडले शिर्ष तीनमा स्थान लगभग पक्का बनाई सकेको छ । तर दुई टोलीबीचको लामो इतिहासका कारण दुवै टोलीले जितका लागि हरसम्भव प्रयास गर्ने पक्का छ ।

बार्सिलोना ला लिगाको इतिहासमा पहिलो पटक कुनै पनि खेलमा अपराजित रहँदै लिग अन्त्य गर्ने प्रयासमा छ । तर यो लक्ष्यलाई ब्रेक लागाउन रियल म्याड्रिड लागि पर्नेछ ।

यस सिजनमा अघिल्लो ४ एल क्लासिकोमा दुवै टोलीको नाममा २ जित छन् । स्पेनिस सुपरकपका दुवै लेगमा रियलले बार्सिलोनालाई पराजित गरेको थियो भने प्रिसिजन खेलमा इन्टरन्यासनल च्याम्पियन्स कपमा रियललाई पराजित गरेको बार्सिलोनाले ला लिगाको अघिल्लो खेलमा रियलकै घरेलु मैदानमा जित हासिल गरेको थियो । रियल त्यसको बदला लिने प्रयासमा रहनेछ ।

ला लिगा अन्तर्गत रियलले बार्सिलोनालाई पछिल्लो ३ खेलमा पराजित गरेको छैन । तर इतिहास हेर्नेहो भने २ सय ३६ भेटमा रियलले ९६ र बार्सिलोनाले ९२ खेल जितेको छ ।

बार्सिलोनाका लागि एन्द्रे इनियेस्टाको यो अन्तिम एल क्लासिको हुनेछ । सिजनको अन्त्यमा बार्सिलोनासँगको लामो सहकार्य अन्त्य गर्ने जानकारी दिएका इनियेस्टाले रियल विरुद्ध बार्सिलोनाको जर्सीमा अन्तिम पटक खेल्दै छन् । रियलका लागि भने ड्यानि कार्भाहलले यो खेल गुमाउने पक्का छ । च्याम्पियन्स लिग सेमिफाइनलको पहिलो लेगमा बायर्न म्युनिखविरुद्ध चोट बोकेका उनी त्यसयता फिट भएका छैनन् ।त्यस्तै इसको र राफेल भरान पनि खेल्न नसक्ने सम्भावना छ ।

खेल नेपाली समयानुसार आज राती १२ : ३० बजे सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्