आज ६ वटा संसदीय समितिका बैठक बस्दै
काठमाडौं, २४ साउन। सङ्घीय संसद्अको प्रतिनिधि सभान्तर्गतका विभिन्न ६ वटा संसदीय समितिका बैठक बस्दै छन् । संसद् सचिवालयका अनुसार बिहीबार सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति, अर्थ समिति, कानुन, न्याय तथा मानवअधिकार समिति, राज्यव्यवस्था तथा सुशासन समिति, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।
अर्थसमितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा नेपालको पुँजीबजार सम्बन्धी समसामयिक विषयमा धितोपत्र बोर्डसँग छलफल गर्ने कार्यक्रम छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिको बैठक पनि बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकबारे छलफल हुनेछ ।
यसैगरी, राज्यव्यवस्था तथा सुशासन समितिको बैठक सिंहदरबारमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक दिउँसो साढे १२ बजे समितिको हल सिंहदरबारमा बस्नेछ । बैठकमा पुरातात्विक महत्वका सम्पदाहरूको अवस्था र ग्यालरी बैठकभित्र रहेका पुरातात्त्विक वस्तुहरूको संरक्षण सम्बन्धमा छलफल गर्ने कार्यसूची रहेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो साढे १ बजे बस्नेछ । सिंहदरबारमा बस्ने बैठकमा विद्यालय शिक्षा विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम छ ।
यस्तै, सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा वर्षा याममा डेंगु, हैजा लगायतका सरुवा रोग सङ्क्रमणको हालको अवस्था, सरुवा रोग नियन्त्रणको लागि मन्त्रालय र अन्तर्गतका निकायबाट भए गरेका काम कारबाही, समस्या र भावी कार्ययोजना, समग्र स्वास्थ्य क्षेत्रको सुधारको कार्ययोजना सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस्