एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना

काठमाडौं, २३ साउन । पानी नपरे पनि नुवाकोट, ककनी नजिकैको सूर्यचौरमा बुधबार बिहानैदेखि हुस्सु लागेको थियो। बाक्लो कुहिरोले वारिपारि देख्न पनि मुस्किल हुन्थ्यो।

मध्याह्नपछि हुस्सु फाट्न थाले पनि शिवपुरीको मध्यवर्ती क्षेत्र रहेको सूर्यचौरको अवस्था भने उस्तै थियो।

सूर्यचौरमाथि शिवपुरी राष्ट्रिय निकुञ्जचको मध्यवर्ती क्षेत्र भएकाले चरन ठाउँ पनि छ। बस्तुभाउ लिएर गोठालाहरू बिहानै त्यहाँ पुगेका थिए।

शिवपुर गाउँपालिका वडा नम्बर ७ का अध्यक्ष वीरबहादुर तामाङका अनुसार बुधबार दिउँसो सवा २ बजेतिर एक जना महिलाले सूर्यचौरमाथि एकाएक धुँवाको मुस्लो देखिन्। सुरूमा त उनले हुस्सु नै भन्ठानेकी थिइन्।

तर धुँवा सँगसँगै आगो पनि देखिन थालेपछि उनले अरू गोठालाहरूलाई खबर गरिन्। तिनै गोठालाहरूले धुवाँ देखिएको जानकारी प्रहरीलाई दिएको वडाध्यक्ष तामाङले बताए।

‘वरपर बस्ती छैन, केही तल रिसोर्टहरू छ। माथि गोठालाहरू थिए। सुरूमा एक जना महिलाले देख्नुभएको रहेछ। उहाँले अरू गोठालालाई भनेपछि प्रहरीलाई खबर पुगेको हो,’ उनले भने।

उनकाअनुसार घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी सँगसँगै पुगेका थिए। सेना र प्रहरी पुग्दा आगाको ज्वाला दन्किइरहेको थियो।

‘सुरूमा त घटनास्थल पुग्दै कठिन भयो, घना जंगलको बीच र आगलागी पनि भइरहेकाले सुरक्षाकर्मीलाई पनि असहज भयो। अहिले पाँचै जनाको शव फेला परिसकेको अवस्था छ,’ उनले भने।

आगलागीले हेलिकप्टरको अवशेष चिन्न पनि गाह्रो हुने अवस्थामा रहेको उनले बताए। शवहरू पनि छरिएको अवस्थामा फेला परेको छ।

हेलिकप्टर दुर्घटना हुँदा अर्का प्रत्यक्षदर्शी गोठाला पनि मध्यवर्ती क्षेत्रमै थिए। उनले धुम्म कुहिरोमाथि हेलिकप्टर देखेको बताएको तामाङले जानकारी दिए। ‘कुहिरोमाथि हेलिकप्टर देखेको र अचानक पड्केको उहाँले भन्नुभएको छ,’ तामाङले जानकारी दिँदै भने।

दुर्घटनास्थल शिवपुरी राष्ट्रिय निकुञ्जको पर्खालबाट करिब १० मिटरभित्र मात्रै पर्ने स्थानीयले बताएका छन्।

नेपाल प्रहरीले पनि स्थानीयवासीले सूर्यचौर डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गर्नासाथ घटनास्थलमा पुगेको बताएको छ। प्रहरीले एक जना महिला र चार जना पुरुषको शव निकालेको बताएको छ।

बुधबार नुवाकोटको शिवपुरी गाउँपालिका वडा नम्बर ७ सूर्यचौरमा एयर डाइनेस्टीको नाइन एन-एजेडी कलसाइन भएको हेलिकप्टर हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित पाँच जनाको मृत्यु भएको थियो।

पाइलट अरूण मल्ल र चार जना चिनियाँ नागरिकको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले जानकारी दिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाका अनुसार हेलिकप्टरमा चिनियाँ नागरिकहरू जुदाड टाङ, जिली, यियाद वु र जेमिङ सी सवार थिए। उनीहरू काठमाडौंबाट रसुवाको स्याफ्रुबेसीतर्फ उडेका थिए।

काठमाडौंबाट उडेको तीन मिनेटमै हेलिकप्टर एटिसीसँग सम्पर्क टुटेको विमानस्थलले जनाएको छ।

शवलाई पोस्टमर्टमका लागि त्रिवि शिक्षण अस्पताल ल्याउने तयारी भइरहेको स्थानीय प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्