मेरो माइक्रोफाइनान्सको नाफा  बढ्यो अन्य सूचक कस्तो

काठमाडौं,२३ साउन । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले बुधबार गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा उल्लेख्य रुपमा बढेको छ ।

गत आवको अन्त्यसम्ममा कम्पनीले २१ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा ३६२.५९ प्रतिशत बढी हो । अघिल्लो आ.व.मा कम्पनीले ४ करोड ७४ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो ।

समीक्षा अवधीमा कम्पनीको खुद ब्याज आम्दानी १४.०६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ३०.८८ प्रतिशत बढेको छ । खुद ब्याज आम्दानी सामान्य बढेपनि इम्पेरमेन्ट चार्ज घटेका कारण कम्पनीको खुद नाफामा उल्लेख्य सुधार देखिएको हो । त्यस्तै, कम्पनीको कुल सञ्चालन आम्दानी १५.८४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा पनि ३५२.७४ प्रतिशतले बढेको छ ।

उक्त अवधिसम्ममा कम्पनीको खराब कर्जा ५.८४ प्रतिशतबाट बढेर ७.६८ प्रतिशत पुगेको छ । तर इम्पेरिमेन्ट चार्ज भने १२ करोड ५४ लाख रुपैयाँबाट घटेर १ करोड ९४ लाख रुपैयाँमा झरेको छ । जसले गर्दा कम्पनीको सञ्चालन मुनाफा र खुद नाफा उल्लेख्य रुपमा बढ्न टेवा पुगेको हो ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी भने बढेको छ । समीक्षा अवधिमा सस्थाको यस्तो आम्दानी १३.४ रुपैयाँ बढेर १६.६३ रुपैयाँ पुगेको छ ।

कम्पनीले उक्त अवधिसम्ममा १९ करोड ६२ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ । त्यस्तै, कम्पनीको वितरणयोग्य प्रतिशेयर आम्दानी १४.८७ रुपैयाँ छ।कम्पनीको रिजर्भ कोषमा ७९ करोड ८९ लाख रुपैयाँ सञ्चित छ ।

त्यस्तै कम्पनीको प्रतिशेयर नेटवर्थ १६०.५३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ४२.०८ गुणा छ । कम्पनीको चुक्तापूँजी १ अर्ब ३२ करोड रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्