लक्ष्मी लघुवित्तको नाफा धनात्मक, इम्पेरमेन्ट चार्ज घट्यो

काठमाडौं,२३ साउन । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार अघिल्लो आ.व.को चौथो त्रैमाससम्ममा ऋणात्मक रहेको लघुवित्तको खुद नाफा, यस अवधिमा भने धनात्मक भएको छ ।

लघुवित्तले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ६ करोड ५ लाख रुपैयाँ ऋणात्मक थियो । खुद ब्याज आम्दानी सामान्य बढेको र इम्पेरमेन्ट चार्ज घटेका कारण खुद नाफा धनात्मक भएको हो ।

यस अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५.४३ प्रतिशत बढेको छ भने खुद फि तथा कमिशन आम्दानी ६८.४९ प्रतिशत बढेको छ । त्यसैगरि, समीक्षा अवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी ११.७४ प्रतिशत बढेको छ । लघुवित्तको निष्क्रिय कर्जा समीक्षा अवधिमा ८.३६ प्रतिशतबाट घटेर ७.४३ प्रतिशतमा झरेको छ। जसका कारण इम्पेरमेन्ट चार्ज १३ करोड १८ लाख रुपैयाँबाट घटेर १ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो आ.व.मा प्रतिशेयर आम्दानी ऋणात्मक रहेकोमा यस वर्ष भने नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि धनात्मक भएको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १२ रुपैयाँ ११ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ ८३ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात १०१.१० गुणा रहेको छ ।

चुक्ता पूँजी ४४ करोड १६ लाख रुपैयाँ रहेको यस लघुवित्तको जगेडा कोषमा २८ करोड ६३ लाख रुपैयाँ सञ्चित छ । गत एक वर्षमा लघुवित्तको निक्षेप तथा सापटी ८.१२ प्रतिशत बढेको छ । त्यस्तै, लघुवित्तको कर्जा ९.१२ प्रतिशत बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्