ग्लोबल आइएमई बैंकले कमायो ६ अर्बभन्दा बढी नाफा, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं,२१ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडले गत आ.व.को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ६ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १०.१३ प्रतिशत कमि हो । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ६ अर्ब ६९ करोड रुपैयाँ खुद नाफा कमाएको थियो । खुद ब्याज आम्दानी सामान्य घटेको र इम्पेरमेन्ट चार्ज बढेका कारण बैंकको खुद नाफा घट्न पुगेको हो ।
समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी २.७४ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २९.९० प्रतिशत बढेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी २.९६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ८.२५ प्रतिशत घटेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ३.१५ प्रतिशतबाट बढेर ४.३७ प्रतिशत पुगेको छ । जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज ३ अर्ब ७४ करोड पुगेको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २ रुपैयाँ ६ पैसा घटेर १६ रुपैयाँ ६५ पैसामा झरेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८१ पैसा र मूल्य आम्दानी अनुपात ११.६६ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने १ अर्ब १० करोड रुपैयाँ रहेको छ।
बैंकको गत आ.व.को मसान्तसम्म चुक्ता पूँजी ३६ अर्ब १२ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा २४ अर्ब ८५ करोड रुपैयाँ सञ्चित छ । यस अवधिमा बैंकको निक्षेप १४.३४ प्रतिशत बढेको छ । त्यस्तै कर्जा पनि ४.२३ प्रतिशत बढेको छ ।
प्रतिक्रिया दिनुहोस्