माछापुच्छ्रे बैंकको नाफा घटेसंगै, प्रतिशेयर आम्दानी पनि घट्यो

काठमाडौं,२१ साउन । माछापुच्छ्रे बैंक लिमिटेडले गत आ.व.को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा केहि घटेको छ ।

बैंकले गत आ.व.को असार मसान्तसम्ममा १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.०९ प्रतिशत कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६२ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र गैर सञ्चालन आम्दानी घटेका कारण बैंकको खुद नाफा सामान्य घट्न पुगेको हो ।

समीक्षा अवधीमा बैंकको खुद ब्याज आम्दानी ६.७६ प्रतिशत घटेको, खुद फि तथा कमिशन आम्दानी ४.९३ प्रतिशत घटेको छ । त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ७.११ प्रतिशत र सञ्चालन मुनाफा १७.९७ प्रतिशतले घटेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा ०.८६ प्रतिशतबाट बढेर १.५६ प्रतिशत पुगेको छ । बैंकको इम्पेरमेन्ट चार्ज घटेर १ अर्ब ७ करोडमा सीमित भएको छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ । समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ ९ पैसा घटेर १० रुपैयाँ ७६ पैसामा झरेको छ । असार मसान्तसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ८० पैसा र मूल्य आम्दानी अनुपात १८.५९ गुणा रहेको छ । सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४६ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

चुक्ता पूँजी ११ अर्ब ६२ करोड रुपैयाँ रहेको यस बैंकको जगेडा कोषमा ५ अर्ब ६७ करोड रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्