राष्ट्रिय परिचयपत्र नम्बर डिजिटल बनाउने सरकारको तयारी
काठमाडौं, २० साउन। सरकारले हरेक नागरिकको लागि अनिवार्य गरेको राष्ट्रिय परिचयपत्रको वितरण प्रकृया झण्झटिलो भइरहदा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले डिजिटल प्रकृयाबाटै परिचय पत्र वितरणको तयारी शुरु गरेको छ ।
महानिर्देशक युवराज कट्टेलका अनुसार विभागले भौतिक कार्डकोप्रति आवश्यक नपर्ने गरी डिजिटल कार्ड नै वितरण गर्ने तयारी गरेको छ । त्यसो भएमा परिचय पत्रको लागि फर्म भरेकाहरुले इमेलमै कार्ड पाउनेछन् र त्यसलाई आफै प्रिण्ट गरेर आवश्यक पर्दा उपयोग गर्न सक्नेछन् ।
कहिलेदेखि यसरी डिजिटल रुपमा वितरण हुनेछ भन्ने यकिन भइनसके पनि दशैं अगाडिसम्ममा त्यसरी कार्ड वितरणको शुरुवात गर्ने प्रयास भइरहेको बताइएको छ । नेपालमा करिब एक करोड ९० लाख मानिसहरू राष्ट्रिय परिचयपत्र लिनका लागि योग्य रहेको सरकारको अनुमान छ । त्यसमध्ये अहिलेम्म ४४ लाख मानिसका राष्ट्रिय परिचयपत्र छापिए पनि वितरण प्रकृयामा रहेको झण्झटका कारण करिब नौ लाखले मात्रै परिचय पत्र पाएका छन् ।
विसं २०७६ बाट नेपालमा राष्ट्रिय परिचयपत्र वितरण कार्य शुरु भएको थियो । चालु आर्थिक वर्षको बजेट भाषणमा सरकारले बनाउने सामाजिक सुरक्षा भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य पारेपछि बिस्तारै यस्तो परिचयपत्र लिन आउनेहरूको संख्या ह्वात्तै बढेको छ । तर, वितरण प्रकृयामा भइरहेको ढिलासुस्ती र झण्झटका कारण सर्वसाधारणको लागि राष्ट्रिय परिचय पत्र लिनु यातना पाउनु जस्तै बनिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्